
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिनुभएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी-१ बाट उम्मेवार बन्ने घोषणा गरेका साम्पाङले साँझ राजीनामा दिनुभएको हो । साम्पाङले साँझ उपमहानगरका उपप्रमुखसहित सबै वडाअध्यक्षहरूको भेला बोलाएर राजीनामा दिनुभएको हो ।
कर्मचारी र जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै साम्पाङले उपप्रमुख आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाउनुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने घोषणा गरेसँगै त्यहाँको चुनावी समीकरणमा नयाँ तरंग पैदा भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा सत्ता गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै धरानको नेतृत्व सम्हालेका साम्पाङको रोजाइ सुनसरी–१ परेपछि आगामी निर्वाचन रोचक हुने आकलन गरिएको छ ।