महानगर प्रमुखबाट राजीनामा दिएर बालेन्द्र शाह चुनावी मैदानमा

भोलि पहिलोपटक रवि लामिछानेसँग जनकपुरमा चुनावी सभा गर्दै
माघ ४, २०८२ |अञ्जना लामिछाने
महानगर प्रमुखबाट राजीनामा दिएर बालेन्द्र शाह चुनावी मैदानमा

काठमाडौं । आफ्नो कार्यकालको तीन वर्ष साढे सात महिनापछि काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले आइतबार पदबाट राजीनामा दिनुभएको छ। 

यससँगै आइतबार नै बालेन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीमा आफ्नो प्रवेशलाई औपचारिकता पनि दिनुभएको छ । महानगरका उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएर बालेन्द्र रास्वपा कार्यालय पुग्नुभएको हो। समर्थकको बाक्लो उपस्थितिका बीच पार्टीको वरिष्ठ नेतामा पदबहाली गरेपछि बालेन्द्र आइतबार नै सोमबारका लागि तय सभाका लागि जनकपुर पुग्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आइबार मध्याह्नदेखि नै भिडभाड थियो। समर्थकको बाक्लो उपस्थिति त थियो नै, काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएर पार्टी कार्यालय आउने खबर देखाउन सञ्चारकर्मी र सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरसम्म क्यामरा र मोबाइल लिएर तयार भएका बसेका थिए।

तर भनिएको समयमा बालेन्द्रको राजीनामा आएन । न त उहाँको आगमन नै भयो । तर समर्थकहरूले नारा लगाइरहे, बालेन्द्रलाई पर्खिरहे । करिब ३ बजे तिर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएको समाचार बाहिरियो । सुधन गुरूङले बालेन्द्रसँगै आफू पनि रास्वपा प्रवेश गर्ने उल्लेख गर्दै सामाजिक सञजालमा लेखेको कुराले पनि भीड झनै बढ्यो । 

साढे ३ बजे शाह वनस्थली पुग्नुभयो। तर समर्थकको भीडले गाडीबाट निस्किनै हम्मेहम्मे पर्यो । बालेन्द्रसँगै थिए सुधन गुरूङ पनि । स्वयंसेवकको सहयोगमा गाडीबाट झरेर निस्किनुभएका शाहलाई ढोकैमा बसेर स्वागत गर्नुभएको थियो सभापति रवि लामिछानेले । 

बालेन्द्रले रास्वपा कार्यालयमा करिब १० मिनेट समय बिताउनुभयो। त्यसबीचमा आफ्ना लागि तयार कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नुभयो र केही भलाकुसारी। केन्द्रीय कमिटी बैठकमा सुरू हुँदा बालेन्द्र त्यहाँबाट निस्किसक्नुभएको थियो । निस्किँदा समेत समर्थकको उस्तै भीड थियो। उहाँ सोमबार हुने चुनावी सभामा भाग लिन जनकपुर जानुभएको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।