काठमाडौं । नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, रास्वपासहितका अन्य दलले चुनावका लागि टिकटको टुंगो लगाइसक्दा पनि नेपाली कांग्रेस वैधानिकताको लडाइँमै छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष अदालत पुगेको छ भने निर्वाचन आयोगबाट वैधानिकता पाएको गगन थापा नेतृत्वको नेपाली कांग्रेस देउवा पक्षलाई समेत समेटेर अघि बढ्ने प्रयास गरिरहेको छ । तर देउवा पक्ष गगन थापाले बाँड्ने टिकट लिएर चुनावमा जान्छ कि जाँदैन, अझै अन्योल नै छ ।
विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुग्दै गर्दा तत्कालीन महामन्त्री गगन थापा पक्षले शेरबहादुर देउवाले चुनाव नलड्ने अडान राखेको थियो । तर त्यसमा सहमति जुट्न सकेन। अहिले परिस्थिति ठिक उल्टिएको छ । थापा विशेष महाधिवेशनमार्फत सभापतिको हैसियतमा टिकट वितरण गर्ने तहमा पुग्नुभएको छ ।
अब उहाँले देउवासहित शीर्ष नेताहरूलाई टिकट दिनुहुन्छ कि दिनुहुन्न भन्ने प्रश्न उब्जिएको छ। तर यसको स्पष्ट जवाफ पार्टी नेतृत्वसँग समेत छैन । सभापति थापाले संसदीय बोर्ड गठन गरेर टिकट वितरणको प्रक्रिया अघि बढाइसक्नु भएको छ, जसअनुसार जिल्लाबाट आएका सिफारिसका आधारमा टिकट वितरण गर्ने तयारी भइरहेको छ ।
विगतमा कांग्रेसमा चल्दै आएको ६०-४० को भागबन्डा अन्त्य गर्दै देउवा पक्षलाई पनि समेट्ने प्रयास भइरहेको छ। नयाँ र युवालाई अवसर दिने र पटक-पटक चुनाव लड्दै आएका शीर्ष नेतालाई आवश्यकताका आधारमा टिकट दिने महामन्त्री प्रदीप पौडेलको भनाइ छ।
पार्टीले सहमतिको प्रयास गरिरहँदा देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेको छ । साथै मंगलबारका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया स्थगित हुनुपर्ने माग पनि गरेको छ । यसले देउवा पक्ष थापाले बाँड्ने टिकट लिएर चुनावमा जान्छ कि जाँदैन भन्ने अन्योल कायमै छ।
यता नेता शेखर कोइराला पक्षले आइतबार आफ्ना पक्षीय नेता तथा कार्यकर्ताको भेला बोलाएर अदालतले दिने निर्णय मान्दै चुनावमा पनि सहभागी हुने निर्णय गरेको छ । छलफलमा सहभागी अधिकांशले मिलेर चुनावमा जानुपर्ने सुझाव दिएका थिए । देउवा पक्ष अदालत र सडक दुबै मार्गमा जाने पक्षमा देखिएपछि कोइरालाले भने सडक आन्दोलनमा नजाने स्पष्ट पार्नुभएको छ ।
एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपासहित अन्य दलले धेरै स्थानमा टिकट टुंग्याइसक्दा नेपाली कांग्रेसमा भने अझै वैधानिकताको लडाइँ टुंगिएको छैन । गगन थापा नेतृत्वको पार्टी टिकट वितरणको तयारीमा जुटिरहँदा देउवा पक्ष अदालत पुगेको छ । यसले कांग्रेसमा निर्वाचनको तयारी झन्-झन् प्रभावित बन्दै गएको छ, जसको असर निर्वाचन परिणामसम्मै देखिने परिस्थिति निम्तिएको छ ।