ग्लोबल छनोटमा बंगलादेश, आयरल्यान्ड र नेदरल्यान्ड्सको विजयी सुरूआत

माघ ४, २०८२ |खेल ब्युरो
ग्लोबल छनोटमा बंगलादेश, आयरल्यान्ड र नेदरल्यान्ड्सको विजयी सुरूआत

काठमाडौं । ग्लोबल छनोटकै अर्को खेलमा अमेरीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले विजयी सुरूवात गरेको छ ।

मुलपानीको माथिल्लो क्रिकेट मैदानमा अमेरीकाले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेका बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५९ रनको योगफल तयार पारेको थियो । उसका लागि ओपनरद्वय दिलारा अख्तेर र जुवाइरीया फेरडोसले समान १७-१७ रन बनाए । 

सर्मिन अख्तेरले ३९ बलमा ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सोभाना मोस्ट्रेले ३२ रनको योगदान दिइन । अमेरीकाका लागि माही माधभनले ३ विकेट हात पारिन् । एक सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरीकाले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रन मात्र बनाउन सक्यो । उसका लागि चेत्ना पग्डयालाले ३६ र रीतु सिंहले ३३ रनको योगदान दिइन् । बंगलादेशका लागि नहिदा अख्तेरले ४ विकेट लिइन् ।

आजै सम्पन्न अर्को खेलमा नेदरल्यान्ड्सले जिम्वाब्वेलाई २२ रनले पराजित गर्यो । टीयू क्रिकेट मैदानमा ब्याटिङका लागि अमन्त्रण पाएको डच टोलीले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २२ रन मात्र बनाउन सके पनि त्यसलाई सफलतापूर्वक रक्षा गर्यो । जवाफमा जिम्वाब्वेले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय रन मात्र बनाउन सक्यो ।

मुलपनीमा सम्पन्न अर्को खेलमा पपुवा न्युगिनीविरुद्ध ४१ रनको सहज जित हात पार्दै आयरल्यान्डले विजयी सुरूवात गरेको छ । आइरिस टोलीले टस जित्दै पहिला ब्याटिङ गरेर २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । जवाफमा पीएनजीले ६ विकेटको क्षतिमा एक सय ५ रन मात्र बनाउन सक्यो ।

यससंगै प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न हुँदा समूह 'ए'मा आयरल्यान्ड २ अंकसहित शीर्ष स्थानमा छ । समान २ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । समूह 'बी'मा समान २-२ अंक जोडेका थाइल्यान्ड र नेदरल्यान्ड क्रमस दोस्रो र तेस्रो स्थानमा छन् ।