
हेटौंडा । हेटौंडा कुलेखानी काठमाडौं रूटमा चल्ने सवारी साधनका चालकले लागूऔषध सेवन गरेर सवारी चलाउॅंदै आएको तथ्य सार्वजनिक भएको छ ।
मंगलबार भीमफेदी अस्पतालका चिकित्सक प्रविण पाठकसहितको टोलीले एक सय ११ जना सवारी चालकको पिसाब परिक्षण गर्दा ११ जना चालकले लागूऔषध सेवन गरेको तथ्य खुलेको हो । जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जन स्वास्थ्य कार्यालय हेटौंडा, सवारी यान्त्रिक परिक्षण कार्यालय हेटौंडा समेतको संयुक्त चेकजाँचका क्रममा सवारी चालकले लागूऔषध सेवन गरेको पुष्टि भएको हो ।
११ जना मध्य ९ जना सार्वजनिक यातायातका चालक रहेको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक सन्त श्रेष्ठले बताउनुभयो । ६ जना सुमो चालक र तीन जना ईभी गाडी चालक हुन् । अन्य दुई जना फलफूल र माछा बोक्ने सवारी साधनका चालक हुन् ।
पाहाडी क्षेत्रको घुमाउरो र सांघुरो सडकमा दुर्घटना हुने क्रम बढेपछि ट्रफिक प्रहरीको समन्वयमा सवारी साधन र चालकको परिक्षण सुरू गरिएको हो । गत पुस २० गते भीमफेदी गाउॅंपालिका वडा नम्बर ६ स्थित जुरिखेतमा काठमाडौबाट हेटौंडातर्फ आउॅंदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन् ।
घाइतेको अहिले पनि उपचार जारी छ । यात्रुको जीउधनलाई असुरक्षित पार्दै लापरबाही तरिकाले सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूकाे कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बच्चुराम फुँयालले बताउनुभयो ।