काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा वरिष्ठ नेता बन्नुभएका बालेन्द्र शाह आगामी माघ ४ गते काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रन तम्तयार हुनुहुन्छ ।
उहाँले तराई-मधेशदेखि पहाडी क्षेत्रसम्म हुने चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ । काठमाडौं महानगर प्रमुखको उम्मेदवार बन्दा कालो चश्मा, कालो कोटसहितको पोसाकमा चुनाव प्रचार गर्नु भएका उहाँ यसपटक प्रधानमन्त्रीको उम्मेदवारका रूपमा नयाँ अवतारका रूपमा प्रचारमा उत्रिन लाग्नुभएको छ ।
कालो चश्मा, माथि कालो कोट र कालो टिसर्ट, तल कालो जिन्स, अनि छालाको डर्बी जुत्ता । आकलझुक्कल गाढा कलेजी र खैरो कोट । काठमाडौं महानगरको चुनावका बेला यही थियो, बालेन्द्र शाहको पहिचान ।
कतिपयले उहाँको यही अवतारको नक्कल पनि गरे । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उहाँ नयाँ अवतारमा देखिने तयारी गर्दै हुनुहुन्छ । त्यसका लागि ठाउँ विशेषको पोसाकमा देखिँदै हुनुहुन्छ । बालेन्द्र शाहनिकट नेताहरूका अनुसार उहाँले चार खालका पोसाक सिलाउनुभएको छ ।
जसमध्ये एउटा पोसाकसहितको तस्बिर आइतबार सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभयो, जहाँ उहाँले चाँडै नै चुनावी अभियानमा उत्रिने संकेत गर्ने गरी 'शुभकामना सबैलाई, हामी आउँदैछौं,' लेख्नुभएको छ । झट्ट हेर्दा यो पोसाक तपाईंलाई कुनैबेला राजा महेन्द्रले फ्रान्स भ्रमणमा जाँदा लगाएको दौरा सुरूवाल टोपी जस्तै लाग्न सक्छ । तर यो संयोग होइन ।
त्यहीँ डिजाइन देखाएर दुरूस्तै हुनेगरी उहाँले कपडा सिलाउनुभएको उहाँ निकटकाले बताएका छन् । यसबाहेक शाहले चुनावी अभियानमा जाँदा सम्बन्धित ठाउँ विशेषसँग मिल्ने गरी अरू तीन जोर पोसाक तयार गर्नुभएको छ । यी तीन खालका पोसाक भने चुनावी प्रचारमै जाँदा सार्वजनिक गरिने भन्दै सार्वजनिक गरिएको छैन् ।
उहाँले ती पोसाक लगाएर फोटो सुट नै गरिसकेको बताइएको छ । बालेन्द्र शाह निकटले दिएको जानकारीअनुसार तराई-मधेश जिल्लामा जाँदा मधेशी पोसाकमा जाने तयारी छ । उहाँ माघ ५ गते जनकपुरमा हुने कार्यक्रममा सहभागी हुँदा कुर्ता पाइजामामा देखिनुहुनेछ । तर पाेसाकको रङ भने खुलाइएको छैन् ।
त्यसैगरी पहाडी जिल्लामा जाँदा पहाडी पोसाक दौरा सुरुवाल टोपी लगाएर जानुहुनेछ भने परम्परागत नेवारी पोसाक पनि सिलाउनु भएको छ । खासगरी बालेनलाई भावि प्रधानमन्त्रीको रूपमा अघि सारिएपछि ७७ जिल्लामै जाने कार्यक्रम पनि बनेको उहाँनिकट नेताहरूको भनाइ छ ।
माघ ४ गते महानगरप्रमुखबाट राजीनामा दिएपछि उहाँ रास्वपा कार्यालय प्रवेश गर्ने तयारी छ । उम्मेदवारी दिनुपूर्व रास्वपाले जनकपुरमा चुनावी सभा गर्ने र त्यहाँ सभापति रवि लामिछानेसहित बालेन्द्र शाहले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि झापा जाने र झापा ५ बाट उम्मेदवारी घोषणा गर्न सक्ने सम्भावना बलियो छ । तर कतिपयले केपी ओलीको निर्वाचन क्षेत्र भएकाले कडा प्रतिस्पर्धा हुने भन्दै नजान पनि सुझाइरहेका छन् ।
आफ्नो मत बढी भएको ठाउँमा निर्वाचन लड्न पनि उहाँलाई सुझाव आइरहेको निकटहरूले बताएका छन् ।