जाँचबुझ आयोगलाई ओलीले के जवाफ दिनुभयाे ?

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाँचबुझ आयोगलाई ओलीले के जवाफ दिनुभयाे ?

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन-जी पुस्ताका नभएको दाबी गर्दै २४ गतेको अवस्था नियन्त्रणमा लिन सेना परिचालन गर्न चाहेको भए पनि सम्भव हुन नसकेको जिकिर गर्नुभएको छ ।

भदौ २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई ओलीले दिएको बयानका विषय भन्दै सामाजिक सञ्जालमार्फत एमाले सचिव महेश बस्नेतले सार्वजनिक गरेका मुख्य बुँदाहरूमा सबै दोष आन्दोलनकारीतर्फ नै देखाइएको छ ।सचिव बस्नेतले उल्लेख गरेका ६ मध्ये बयानको पहिलो बुँदामा २२ भदौ बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा-विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको जवाफ दिएको भनिएको छ ।

यस्तै आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका, आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन-जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको जवाफ तत्कालीन प्रधानमन्त्री ओलीले दिनुभएको छ ।

२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरू भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय भएको, २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको ओलीले आयोगलाई बताउनुभएको थियो ।

उहाँले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि-पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको पनि दाबी गर्दै बयान दिनुभएको सचिव बस्नेतले उल्लेख गर्नुभएको छ ।

तत्कालीन ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिनुभएको हो । बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए ।

सम्बन्धित समाचार :

ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

ओलीमाथि लगाइएको स्थानहद फुकुवा

जाँचबुझ आयोगप्रति आक्रामक ओली बयान दिन कसरी राजी हुनुभयो ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.