
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ग्रिनल्यान्ड प्राप्त गर्ने विभिन्न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ ।
नेटो सदस्य डेनमार्कको अर्धस्वायत्त क्षेत्र ग्रीनल्यान्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकताको विषय रहेको ह्वाइट हाउसको जिकिर छ । डेनमार्कले ग्रिनल्यान्डमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफूलाई मान्य नहुने चेतावनी दिएको छ । अमेरिकाले अर्को नेटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गरे दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था नै समाप्त हुने डेनमार्कको जिकिर छ ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सोमबार डेनमार्कको टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा दिएको यस्तो अभिव्यक्तिलाई युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै समर्थन गरेका छन् । जवाफमा ह्वाइट हाउसले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्यलाई पछ्याउन विभिन्न विकल्पहरूको बारेमा छलफल भइरहेको जनाएको हो ।
अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चिफको अधिकारमा रहेको विकल्प भएको ह्वाइट हाउसको भनाइ छ । नेटो एक ट्रान्स-एट्लान्टिक सैन्य समूह हो । यस समूहमा कुनै एक राष्ट्रमाथि बाहिरी राष्ट्रले आक्रमण गरेमा सबैले मिलेर प्रतिवाद गर्छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार क्यापिटल हिलमा आयोजित सांसदहरूसँगको छलफलमा ग्रिनल्यान्डमा आक्रमण गर्ने योजना सरकारले नबनाएको बताउनुभएको थियो । तर डेनमार्कबाट टापु किन्ने कुरा उहाँले दोहोर्याउनुभएको छ ।