मिथ्या सूचना प्रचार मन्त्रीले कि मिडियाले ? [समाचार टिप्पणी]

पुस २३, २०८२ |डीपी उपाध्याय
मिथ्या सूचना प्रचार मन्त्रीले कि मिडियाले ? [समाचार टिप्पणी]

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रीको राजीनामाका लागि आग्रह गर्नुभएको आज तेस्रो दिन हो। 

तर राजीनामा मागिएका मन्त्रीहरू प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीको सचिवालय र क्याबिनेटमा सरिक मन्त्रीहरूले नै पुष्टि गरेको समाचारको खण्डनमण्डन र स्पष्टिकरण दिँदै हिँडिरहेका छन्। आधा सत्य लुकाएर मन्त्रीहरू सार्वजनिक रूपमा उठेका प्रश्नलाई चुनौती दिइरहेका छन्। 

अहिले सरकारका प्रवक्ता हुनुहुन्छ जगदीश खरेल जो जेन-जी आन्दोलन अघि पेसाले पत्रकार । बुधबार पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा उहाँ नै वक्ता हुनुहुन्थ्यो। पत्रकारिताकै पृष्ठभूमि भएका र लाइन मिनिस्ट्रीको नेतृत्व गरिरहेका कारण पनि स्वभाविक रूपमा उहाँले सत्य तथ्य समाचार प्रवाह गर्नमा मिडियाको भूमिकाका बारेमा नबोल्ने कुरै भएन। 

त्यसैले पनि पत्रकारहरू सरिक कार्यक्रममा उहाँले निर्वाचनको छेकोमा भ्रामक र मिथ्या सूचनालाई निरूत्साहित गर्नमा मिडियाको जिम्मेवारी सम्झाउनु भयो । पूर्व सञ्चारकर्मीसमेत रहेका सरकारका प्रवक्ता खरेलले अरूलाई मिथ्या सूचनाको ज्ञान बाँड्दै उहाँले मंगलबार आएका समाचारको खण्डन गर्ने अवसरका रूपमा समेत प्रयोग गर्नुभयो।

खण्डन त व्यक्ति र अधिकारीहरूको अधिकारकै कुरा भयो । चुनावमा आफू उठ्ने नउठ्नेबारे आफूले अहिलेसम्म कुनै निर्णय नलिएको उहाँको दाबी थियो। स्पष्टिकरण दिने क्रममा उहाँले उपस्थित पत्रकारहरूलाई तथ्यपरकता, सन्तुलन र विश्वसनियताको सिद्धान्त पनि सम्झाउनुभयो।

सञ्चारमन्त्री भएका नाताले उहाँले यसरी मिडिया र पत्रकारितासँगै सम्बन्धित संस्थाको कार्यक्रममा मिडियाको धर्म स्मरण गराउनु सामान्य र स्वभाविक नै हो। तर उहाँले आफ्नाबारेमा आएका समाचारको खण्डन गर्दै गर्दा सत्य के हो भन्ने कुरा भने बताउनुभएन। 

समाचार के थियो भने प्रधानमन्त्री सुशीला कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा तीन मन्त्रीको राजीनामा मागिएको थियो। प्रधानमन्त्रीको भाषा के थियो, सरकारका प्रवक्तालाई जति अरुलाई थाहा हुने कुरा भएन। त्यो ११ मिनेट चानचुनको आफ्नो सम्बोधनमा मन्त्री खरेलले त्यो विषय उल्लेख नै गर्नुभएन। 

सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरिरहँदा मन्त्री खरेलले मन्त्रिपरिषद्‌मा भएको संवाद भने लुकाउनुभयो। उहाँले लुकाएको कुरा जुन मिडियामा सार्वजनिक भइसकेको छ, त्यो हो– प्रधानमन्त्रीले क्याबिनेट मिटिङमा मन्त्री खरेललाई समेत लक्षित गर्दै भन्नुभयो- नागरिक सरकारका रूपमा गठित मन्त्रिपरिषदमा रहेकाहरू दलीय राजनीतिमा सक्रिय हुनु उपयुक्त होइन, चुनावमा उम्मेदवार हुने हो भने मन्त्री पद छोड्नुस् । 

प्रधानमन्त्रीले राजीनामा मागेका तीन मन्त्री उहाँसहित खेलकुद मन्त्री बब्लु गुप्ता र कुलमान घिसिङ थिए । तर तीनैजना मन्त्री अहिले प्रधानमन्त्रीले राजीनामा मागेपछि आफूहरू दलमा नलागेको भनिरहेका छन् । कुलमान घिसिङकै कुरा सुनौं न, उहाँले त केसम्म भन्नुभयो भने उहाँ कुनै पार्टीको सदस्य नै होइन।

यसअघि माओवादी केन्द्रमा समेत संलग्न रहेका घिसिङले आफ्नै अगुवाइमा उज्यालो नेपाल पार्टी खुलेको, त्यो पार्टी रास्वपासँग एकतामा गएको र आफू रास्वपाको उपसभापति भएको कुरा समेत अस्वीकार गरिदिनुभयो। यो अभिव्यक्ति सुन्नेहरुले त भनिसकेका छन्, कि मन्त्री घिसिङले झुटो बोल्नुभयो। 

घिसिङले किन यति सजिलै सार्वजनिक तथ्यहरूलाई इन्कार गर्नुभयो, त्यो उहाँले नै जान्ने कुरा भो। मन्त्री खरेलले जस्तै पछि अर्को खण्डन पनि उहाँले गर्नुहोला। तर आधा वा अपूरा तथ्य वा भनाइ राखेर भ्रम सिर्जना गर्ने काम सरकारमै रहेका जिम्मेवार मन्त्रीहरुले गर्नु कति जायज ? 

के मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले तीन मन्त्रीहरू – कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ताको राजीनामा माग्नुभएको होइन ? मन्त्रिपरिषद्को औपचारिक बैठक सकिएपछि पनि तीनै मन्त्रीसँग अलग्गै अब तपाईँहरुले मलाई सहयोग गरिदिनुपर्‍यो भनेर भन्नुभएको होइन ? 

कुलमान, जगदीश र बब्लु अब चुनावमा उठ्ने कि नउठ्ने वा उहाँहरुले निर्णय गर्नुभयो कि भएन ? खास प्रश्न यी होइनन्। मूल प्रश्न हो– प्रधानमन्त्रीले राजीनामा माग्नुभएको हो कि होइन ? अनि प्रधानमन्त्रीले नै राजीनामा मागेपछि मन्त्रीको कुर्सीमा टाँसिनु पर्ने के छ ? जवाफ अहिले दिने कि पछि ? कतै प्रधानमन्त्रीले शंका गरेजस्तै चुनावका लागि पदीय हैसियत र सरकारी स्रोतको दुरुपयोग गर्ने नियत त होइन ?

त्यसभन्दा पनि महत्वपूर्ण विषय हो– हामी प्रधानमन्त्रीय पद्धतिमा छौं। प्रधानमन्त्रीले औपचारिक वा अनौपचारिक रुपमा मन्त्रीसँग राजीनामा मागेपछि मन्त्रीले बाझेर वा स्पष्टिकरण दिँदै हिँडेर बस्ने होइन। आफूले राजीनामा दिए आफ्नै मान्छेलाई मन्त्री बनाउनुपर्छ भन्दै सर्तबाजी गर्दै बस्ने होइन। 

यदि कुनै मन्त्रीले त्यसो गरेको हो भने। त्यो नैतिक होइन, जिम्मेवारी होइन, सहि होइन। बरू सरक्क राजीनामा दिएर घन्टी बजाउन हिँड्ने हो कि डमरू बजाउन हिँड्ने हो, हिँड्ने हो, गर्वका साथमा । जेन-जी आन्दोलन र बलिदानीको सम्मान पनि त्यहि हो।

याे पनि :

प्रधानमन्त्रीद्वारा कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ताको राजीनामा माग


Image

डीपी उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको जिल्ला ब्युरोमा कार्यरत छन् ।