थाइल्यान्डमा हुने पहिलो साफ महिला फुटसल च्याम्पियनसिपका लागि नेपाली टोली अन्तिम तयारीमा

७ सार्क राष्ट्र सहभागी हुने प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्य
पुस २३, २०८२ |सुवास रोकाया
थाइल्यान्डमा हुने पहिलो साफ महिला फुटसल च्याम्पियनसिपका लागि नेपाली टोली अन्तिम तयारीमा

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको साफ महिला फुटसल च्याम्पियनसिप-२०२६ का लागि अहिले नेपाली महिला टोली अन्तिम तयारीमा व्यस्त छ । 

थाइल्यान्डको बैंककमा जनवरी १३ देखि २६ तारिखसम्म सञ्चालन हुने यो प्रतियोगिता दक्षिण एसियामा फुटसल विकासको महत्वपूर्ण आधारशिला मानिएको छ । प्रतियोगितामा ७ सार्क राष्ट्रहरु सहभागी रहँदा नेपालले च्याम्पियन बन्ने लक्ष्य राखेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ-साफले इतिहासमै पहिलो पटक साफ फुटसल च्याम्पियनसिप-२०२६ आयोजना गर्दैछ । थाइल्यान्डको बैंककमा जनवरी १३ देखि २६ सम्म सञ्चालन हुने यो प्रतियोगितामा बंगलादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स, नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् । 

नेपालले मंसिर ८ देखि १२ गतेसम्मको छनोट प्रक्रियापश्चात् प्रारम्भिक प्रशिक्षण थालेको थियो । १४ सदस्यीय अन्तिम स्क्वाड घोषणा भएपछि पुस ८ गतेदेखि बन्द प्रशिक्षण सुरु भएको हो । साफकै पहलमा पहिलो पटक आयोजना हुन लागेको महिला फुटसल च्याम्पियनसिपले यस क्षेत्रको फुटसल प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

नेपाली टोलीमा विभागीय टिमबाट आएका खेलाडीहरूको बाहुल्यता छ । टिममा फुटबल पृष्ठभूमि भएका खेलाडी समावेश हुँदा टिम समायोजनमा समय लागेको देखिए पनि प्रतियोगिताका लागि टोली क्रमशः लयमा फर्किएको छ । तयारी अवधि लामो भए पनि अभ्यास गर्ने म्याट र टर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसार नहुनु, सीमित खेल र एक्सपोजरको कमी चुनौतीका रूपमा देखिएको खेलाडीहरु बताउँछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा जनवरी १३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । जनवरी १५ मा माल्दिभ्स १७ मा भारत र १९ मा बंगलादेशसंग खेल्नेछ । त्यसपछि पाकिस्तानसँग जनवरी २१ र जनवरी २५ मा भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता समाप्त गर्ने छ । 

सिङ्गल राउन्ड रोविनपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतिस्पर्धासँगै फुटसल विकासलाई केन्द्रमा राखिएको यो च्याम्पियनसिपले दक्षिण एसियाली फुटसलको भविष्यका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।