शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डकाे विजयी सुरूवात

पुस २३, २०८२ |खेल ब्युरो
शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डकाे विजयी सुरूवात

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरूवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्- राखेपको कभर्डहलमा बुधबार सम्पन्न उद्घाटन खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । हालै महिलातर्फ नवौं एनभीए भलिबल च्याम्पियनसिप जितेको न्यु डायमन्डले एकतर्फी जित हात पार्ने क्रममा पहिलो सेट २५-१६ दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्यो । 

न्यु डायमन्डलाई आर्मीले कुनै पनि सेटमा चुनौती दिन सकेन । जितसँगै न्यु डायमन्डले ३ अंक जोडेको छ । खेलअघि राष्ट्रिय महिला भलिबल टोली तथा टिपटप न्यु डायमण्डकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिएको थियो । 

 सुमित्राले अवार्डसहित ५० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतिष्ठानले हरेक संस्करणमा एक जना खेलाडीलाई स्पेशल अवार्ड प्रदान गर्दै आएको छ ।