जनभावना र जेन-जी आन्दोलनको मर्मविपरित राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-एमालेको भागबन्डा

नेतानिकट र लाभ लिएकैलाई अवसर
पुस २३, २०८२ |अञ्जना लामिछाने
जनभावना र जेन-जी आन्दोलनको मर्मविपरित राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-एमालेको भागबन्डा

काठमाडौं । भागबण्डाको राजनीति, सिद्धान्त र विचारलाई एकातिर थन्क्याएर हुने गठबन्धनले विकृति निम्त्याएको भन्दै आलोचना भइरहे पनि पूराना दलले भने आफ्नो प्रवृत्ति छाडेका छैनन् । 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका छन् । जबकि जेन-जी आन्दोलनले दलहरूमा रूपान्तरण खोजेको थियो । अस्तित्व जोगाउन र आफूनिकटका लागि टिकट बाँड्ने गरी भएको गठबन्धन लोकतान्त्रिक मान्यताकै विपरित हुने विश्लेषकहरूको भनाइ छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पनि पूराना दलको गठबन्धन हेर्दा उनीहरूको शैली र प्रवृत्तिमा सुधार देखिएन । जबकि जेन-जी आन्दोलनको एउटा माग राजनीतिक दलहरूमा रूपान्तरण पनि थियो । सिद्धान्त र विचारलाई एकातिर थन्क्याएर भागबण्डामा आधारित हुने गठबन्धनले विकृति निम्त्याएकाले त्यसमा सुधारको अपेक्षा गरिएको थियो । तर राष्ट्रिय सभाका १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ९, एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले एक सिट बाँडचुँड गरेका छन् । 

नेपाली कम्युनिष्ट पार्टीले भने सम्मानजनक सिट नपाएको भन्दै भागबन्डाबाट उम्किएको छ। उसले एक्लै निर्वाचनमा जाने निर्णय गरेको छ । आन्दोलनपछि परिवर्तित राजनीतिक परिस्थितिलाई आत्मसाथ गर्नुको सट्टा आफ्नो साख जोगाइराख्न र सांसद पद जित्नकै लागि सिद्धान्त र विचारविपरित दलहरू एक ठाउँमा उभिएको प्राध्यापक कृष्ण पोखरेलको टिप्पणी छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि दलहरुले सिट बाँडफाँट मात्र गरेका छैनन्, नेताकै वरिपरि घुमिरहने, बारम्बार अवसर पाएका र जनताबाट अस्वीकृतलाई नै पुन: अवसर दिइएको छ । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाएको छ । मेचेले यसअघि ओली प्रधानमन्त्री उहाँकै हुँदा सचिवालयमा बसेर काम गर्ने अवसर पाउनुभएको थियो । 

एकीकृत समाजवादीबाट एमालेमा फर्किनुभएकी रामकुमारी झाँक्रीले लुम्बिनीबाट उम्मेदवार हुने अवसर पाउनुभएको छ। झाँक्रीले यसअघि समानुपातिकतर्फबाट सांसद बनेर मन्त्रीसम्म बन्नुभएको थियो । जुनसुकै विधिबाट राष्ट्रिय सभामा प्रवेश गरे पनि सभाको भूमिकालाई प्रभावकारी बनाउने उहाँको दाबी छ।

एमालेबाट राष्ट्रिय सभाको उम्मेदवार बनेका प्रेम दङगाल यसअघि किसान आयोगका अध्यक्ष र साना तथा युवा स्वरोजगारको कार्यकारी निर्देशकको जिम्मेवारी पाइसकेका व्यक्ति हुनुहुन्छ । झापाका दङगाल ओलीनिकट भएकै कारण एमालेमा पटक-पटक अवसर पाउने व्यक्ति हुनुहुन्छ । 

गण्डकी प्रदेशबाट उम्मेदवार बनेकी सम्झना देवकोटा स्थानीय तहमा मेयर र उपमेयर पदमा पराजित पात्र हुन्। यसअघिको राष्ट्रिय सभाको पनि उम्मेदवार बनेपनि उहाँले जित निकाल्न सक्नुभएको थिएन । पटक-पटक जनताबाट अस्वीकार भएकी उनै देवकोटालाई यसपटक एमालेले गठबन्धन गर्दै जित्ने गरी उम्मेदवार बनाएको छ ।

यता नेपाली कांग्रेसले पनि पटक-पटक अवसर पाएकालाई नै प्राथमिकता दिएको छ । राप्रपा छोडेर कांग्रेस प्रवेश गरेको केही समयमै राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार बन्नुभएका सुनिलबहादुर थापालाई कांग्रेसले कोशी प्रदेशबाट उम्मेदवार बनाएको छ। 

संविधान सभा सदस्य भइसक्नुभएका उहाँ मन्त्रीसमेत बनिसक्नु भएको छ । यसैगरी शेरबहादुर देउवाद्वारा महान्याधिवक्ता नियुक्त गरिएका खम्मबहादुर खातीलाई फेरि राष्ट्रिय सभामा अवसर दिइएको छ । कर्णाली प्रदेशका कांग्रेस सभापति भइसकेका ललितजंग शाही दोस्रो संविधानसभा सदस्यसमेत हुनुहुन्छ जो यसअघि प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो। 

दोस्रो संविधानसभाकै सदस्य रञ्जित कर्ण नेविसंघका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । उहाँले अपाङ्ग तथा अल्पसंख्यक आरक्षणतर्फ फेरि राष्ट्रिय सभामा अर्को अवसर पाउनुभएको छ । निर्वाचन अगाडि नै दलहरुबीच हुने सिट बाँडफाँट राजनीतिक संस्कार र लोकतन्त्रिक पद्धतिविपरित हुने जानकारहरुको भनाइ छ । 

फरक सिद्दान्तका दलहरुबीच हुने भागबन्डा र त्यसमा पनि नेतृत्वनिकट र बारम्बार अवसर पाएकैलाई सांसद बनाउन गरिने अभ्यास लोकतन्त्रको विरुद्ध हुने भनेर आलोचना हुने गरेको छ । यता नेकपाले भने २०५१ सालदेखि पार्टीमा अवसर नपाएका नयाँलाई अवसर दिँदै राष्ट्रिय सभाको उम्मेदवार बनाएको जनाएको छ । 

जनता समाजवादी पार्टीमा एकता गरिसकेको लोसपाका तर्फबाट ८२ वर्षीय महन्थ ठाकुर पनि उम्मेदवार बन्नु भएको छ । पटक-पटक सांसद, मन्त्री तथा उपसभामुखसम्म बन्नुभएका उहाँले २०७९ को निर्वाचनमा महोत्तरी-३ बाट अन्तिम पटक भन्दै चुनाव जित्नुभएको थियो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।