काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनमा विना संगठन लोकप्रिय मतका साथ काठमाडौं महानगर प्रमुखमा विजयी बालेन्द्र शाह र पार्टी स्थापनाको छोटो समयमै देशकै चौथो ठूलो दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीको एकताले देशकै राजनीति तरंगित बनेको छ ।
अघिल्लो निर्वाचनमा रास्वपा र शाहको जनमत कस्तो थियो ?
२०७९ को स्थानीय तह निर्वाचनमा विना संगठन लोकप्रिय मतका साथ काठमाडौं महानगर प्रमुखमा विजयी बालेन्द्र शाह र स्थापनाको छोटो समयमै देशकै चौथो ठूलो दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले राष्ट्रिय राजनीतिमा तरंग सिर्जना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा यी दुईबीचको एकताले कति प्रभाव राख्ला ? यसका लागि २०७९ को स्थानीय तथा प्रतिनिधि सभा निर्वाचनमा फर्कनुपर्छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा र्यापर तथा इन्जिनियर बालेन्द्र शाहले काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धा गर्दा एमालेकै नेताहरूले आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र हुने टिप्पणी गरेका थिए । तर, १ लाख २० हजार हाराहारीमा मत खस्दा शाह ६१ हजार ६ सय ७६ मत ल्याएर विजयी हुनुभयो ।
जबकि त्यतिखेर उहाँसँग कुनै संगठन थिएन । त्यतिखेर शाहको विजयलाई परम्परागत दलप्रतिको असन्तुष्टिका र"पमा लिइयो । उहाँ विजयी हुनुभएको महानगर काठमाडौंका १ देखि ९ सम्म निर्वाचन क्षेत्र पर्छन् । १ नम्बर निर्वाचन क्षेत्र पूरै पर्छ भने अन्य क्षेत्र आंशिक रूपमा महानगरभित्र पर्छन् ।
यता, रास्वपा पनि २०७९ को प्रतिनिधि सभा निर्वाचनको ५ महिनाअघि अर्थात् २०७९ असार ७ गते स्थापना भए पनि छोटो समयै देशको राजनीतिमा प्रभावशाली उपस्थिति राख्न सफल पार्टी हो । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १ सय ३१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो ।
जसमा ७ सिट र समानुपातिकतर्फ ११ लाख ३० हजारभन्दा बढी अर्थात् १० प्रतिशत प्राप्त गर्न सफल भयो । त्यसयता रास्वपा राष्ट्रिय राजनीतिमा निरन्तर प्रभाव राखिरहने शक्तिका रुपमा स्थापित भएको छ । २०७९ को निर्वाचनमा रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजारभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
नागरिकता विवादपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उहाँ झन् बढी अर्थात् ५४ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुनुभयो । त्यसयताका २ वर्षमा रास्वपाले आफ्नो संगठन देशैभर बनाएको छ । यस्तै, एकताअघिसम्म बालेन्द्र शाहको आधिकारिक संगठन नभए पनि सामाजिक सञ्जालका आधारमा हेर्ने हो भने उहाँ प्रशंसकमाझ निकै लोकप्रिय हुनुहुन्छ ।
फेसबुकमा उहाँका ३२ लाख फलोअर छन् । विगतमा छोटो समयमा लोकप्रियता हासिल गरेका रास्वपा र बालेन्द्र शाहबीचको एकताको प्रभाव कस्तो हुनेछ, प्रतिनिधि सभा निर्वाचन नतिजाले देखाउला । तर हालका लागि भने यसले पूराना राजनीतिक दलमा दबाब सिर्जना गरेको छ ।