रौतहट । रौतहट जिल्लाले पहिलो पटक मुख्यमन्त्री पाएपछि जिल्लाबासी खुसी देखिएका छन् ।
रौतहट क्षेत्र नम्बर एकको 'ख'बाट प्रदेश सांसद रहनुभएका कृष्णप्रसाद यादव मधेश प्रदेशका मुख्यमन्त्री भएसँगै जिल्लामा आशाको सञ्चार भएको छ । मुख्यमन्त्री यादव २०६४ सालमा संविधान सभा सदस्य बन्नुभएको थियो भने २०७९ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो ।
रौतहटको गढीमाई नगरपालिका-८ स्थित बरियारपुरमा २०२४ भदौ ९ गते जन्मिएका मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव राजनीतिक पृष्ठभूमिको परिवारबाट प्रतिनिधित्व गर्नुहुन्छ । मुख्यमन्त्री भएपछि जिल्ला आउनुभएका यादव कार्यकर्ता भेटघाट, कार्यक्रम सम्बोधन र विभिन्न शक्तिपीठमा पूजापाठमा व्यस्त देखिनुभयो ।
जिल्लाले पहिलोपटक मुख्यमन्त्री पाएपछि स्थानीय नागरिकका खुसी देखिएको छ । तर मधेश प्रदेशको छैंटाैँ मुख्यमन्त्री बन्नुभएका यादव भने मधेशमा समस्याको चाङ रहेको चुनौतीहरूलाई पार गर्दै विकासका योजनाहरू अगाडि बढाउने र नयाँ योजना तथा रणनीति अघिसार्ने बताउनुहुन्छ ।
आफ्नै निर्वाचन क्षेत्रका व्यक्ति मुख्यमन्त्री भएपछि यहाँका स्थानीयहरूमा आशा पलाएको छ । यस क्षेत्रको विकास हुनेमा स्थानीयहरू आशावादी बनेका छन् । मुख्यमन्त्री यादव भने आफूले निर्वाचनको बेला गरेको प्रतिबद्धता पूरा गर्नु नै मेरो प्रथामिकता रहेको बताउनुहुन्छ ।
मधेशका अधिकांश जनता कृषिमा निर्भर रहेकोले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकताका साथ काम गरे प्रदेश समृद्ध हुने आम नागरिकको अपेक्षा रहेको छ । तर प्रदेश सभाको दोस्रो कार्यकालमा मधेशमा पाँचौंपटक सरकार परिवर्तन हुँदा उहाँको कार्यकालसमेत कति समय चल्ने हो भन्नेमा भने सबैमा आशंका छ ।