धनुषामा बहुप्रतिक्षित ‘रामायण बाटिका’ निर्माण कार्य सुरू, धार्मिक पर्यटनलाई नयाँ उचाइमा लैजाने लक्ष्य

मंसिर २०, २०८२ |अनिल मिश्र|अमरकान्त ठाकुर
धनुषामा बहुप्रतिक्षित ‘रामायण बाटिका’ निर्माण कार्य सुरू, धार्मिक पर्यटनलाई नयाँ उचाइमा लैजाने लक्ष्य

जनकपुर । मिथिलाको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक भुमि धनुषाधाममा बहुप्रतिक्षित रामायण बाटिका निर्माण कार्य सुरू भएको छ । 

मर्यादा परूषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा रहेको जनविश्वासको आधारमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाम आउने श्रद्धालुहरू पुजा दर्शनका लागि अनिवार्य रूपमा त्यँहा पुग्ने गर्दछन् । रामायण बाटिकालाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र बनाउने योजनाअन्तर्गत यसको विकासमा मधेश सरकारले तत्परता देखाएको हो ।

प्राचिन मिथिला र हाल मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि २२ किलोमिटर उत्तरतर्फ अवस्थित छ धनुषाधाम संरक्षित वन । जैविक विविधताले भरिपुर्ण ३ सय ६५ हेक्टरमा फैलिएको यस धार्मिक महत्वका वन जंगल भित्र छ, करिब १८ फिट गोलाइ भएको एक विशाल सालको रूख । प्राकृतिक र सांस्कृतिक विशेषताले भरिपूर्ण धनुष आकारमा देखिएको सालको यस रूखलाई मधेश प्रदेश सरकारले धनुष सखुवा नामाकरण गरेको छ ।

रामायणकालीन अवशेषहरू जीवन्त रहेको जनविश्वास रहेको यस पवित्रस्थलभित्र रामायण बाटिका निर्माण गर्ने प्रदेश सरकारको योजना छ । यसका लागि तत्काल १० लाख रूपैयाँ खर्चेर तीन विघामा घेराबेरा लगाउने काम गरिएको छ । रूख र बोटबिरूवाको उद्यान मात्र नभइ धर्म, संस्कृति, पर्यावरण र समृद्धिको समिश्रणको रूपमा रहेको यस भित्र रामायणकालीन झझल्को दिने संरचनाहरू निर्माण गरिनेछ ।

रामायणमा वर्णन गरिएअनुसार सीताको विवाह हुनु पुर्व मिथिलाका राजा जनकले सर्तसहित राख्नु भएको धनुषलाई अयोध्या नरेश दशरथका जेष्ठ पुत्र रामले उचालेर पारेको तीन मध्ये एक टुक्रा यहाँ खसेको थियो । धार्मिक र सांस्कृतिक मिथिला नगरीको जानकी मन्दिर, सीता स्वयम्बर स्थल मणिमण्डपलगायतका मठ-मन्दिरमा पुजा दर्शनका लागि आउने श्रद्धालुहरू यहाँ पनि अनिवार्य रूपमा पुग्ने गर्छन् ।

धनुषाधामको पौराणिक महत्त्वलाई आधार बनाएर सुरू भएको यो सरकारी परियोजना केवल धार्मिक पर्यटनमै सीमित रहने छैन । यसले प्रकृति, संस्कार र मिथिलाको मौलिक जीवनशैलीलाई पनि उजागर गर्ने छ । धनुषाधाममा निर्माण हुन लागेको बाटिकाले मुर्तरूप लिन सके नेपालको धार्मिक पर्यटनमा कोशेढुगां सावित हुने प्रदेश सरकारको दाबी छ । 

स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटनको विकासमार्फत रोजगारीका अवसर सृजना भई यस क्षेत्रको जीवनस्तर उकास्न मद्दत पुग्नेमा स्थानीयहरू पनि आशावादी छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।

Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।