
सर्लाही । नेपाल-भारत सीमाअन्तर्गत सर्लाहीको विभिन्न स्थानमा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भ (पिलर)हरूको मर्मत तथा रङरोगन सुरू गरिएको छ ।
सशस्त्र प्रहरीले सर्लाहीको पूर्वी सीमा संग्राम्पुरदेखि पश्चिमी सीमाना बलरासम्मको ५१ किलोमिटरमा स्थापित ३ सय ४० सीमा स्तम्भमध्ये जीर्ण अवस्थामा पुगेका १ सय ६ सीमा स्तम्भको मर्मत कार्य मंगलबारबाट सुरू गरेको हो । गोडैता नगरपालिका-१२ मधुवनी स्थित ३३५-३ नम्बरको सानो सीमा स्तम्भबाट मर्मत तथा रङरोगन सुरू गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले सन् २०१४ पश्चात् निर्माण भएका बिजोर संख्याका १ सय ६ सीमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने काम सुरू गरिएको जानकारी दिनुभयाे । उहाँका अनुसार मुख्य सीमा स्तम्भ १ वटा, सहायक सीमा स्तम्भ २ वटा र १०३ वटा साना सीमा स्तम्भ गरी १०६ सीमा स्तम्भको मर्मत गरिने छ ।
सर्लाहीमा मुख्य, सहायक र साना गरी ३ सय ४० वटा सीमा स्तम्भ छन् । जसमध्ये जोर संख्याको सीमा स्तम्भ भारतीय पक्षको तथा बिजोर संख्याका सीमा स्तम्भ मर्मत तथा निगरानीको जिम्मा नेपाल पक्षको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भ दुवै पक्ष मिलेर मर्मतको काम गरिरहेकोमा प्रशंसा गर्नुभयाे । उहाँले सीमासहित सीमा स्तम्भको निगरानीले नेपाल-भारतबीच रोटी-बेटीको सम्बन्ध थप उचाइ पुग्ने बताउनुभयाे ।