गृहमन्त्रीद्वारा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरीक्षण

मंसिर १६, २०८२ |टेकराज जोशी
गृहमन्त्रीद्वारा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरीक्षण

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मंगलबार स्थलगत निरीक्षण गर्नुभएको छ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आउनुभएका मन्त्री अर्यालले कार्यालयको भौतिक अवस्था, क्षतिग्रस्त संरचना तथा पुनःसञ्चालनको प्रगतिबारे प्रत्यक्ष जानकारी लिनुभयो। निरीक्षणका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले भदौ २४ गतेको आन्दोलनका कारण कार्यालयमा भएको क्षति र पुनर्निर्माण तथा सेवा नियमितीकरणका लागि भइरहेको कार्यबारे जानकारी गराउनुभयाे।

गृहमन्त्री अर्यालले पूर्वाधार पुनर्निर्माण र प्रशासनिक सेवा सहज बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै क्रममा, प्रदेश निजामती उपसचिवहरूले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीचको मर्यादाक्रम (प्रोटोकल) सम्बन्धी विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।

उनीहरूले बुझाएको पत्रमा २०७६ वैशाख १६ मा प्रकाशित मर्यादाक्रम विभेदकारी र संघीयताको मर्मविपरित रहेको उल्लेख गर्दै समान तह/श्रेणीका कर्मचारीलाई तीनै तहमा एकरूप मर्यादाक्रम कायम गर्न माग गरिएको छ। ध्यानाकर्षण पत्रमा सर्वोच्च अदालतको २०७८ माघ १२ गतेको निर्देशनात्मक आदेश उद्धृत गर्दै समान तहका कर्मचारीलाई समान प्राथमिकता दिनुपर्ने प्रष्ट व्यवस्था भए पनि व्यवहारमा संघका अधिकारीलाई अग्राधिकार दिनु विभेदपूर्ण भएको उल्लेख गरिएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।