
कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले कारागारबाट फरार भएका कैदीबन्दी र लुटिएका हतियारका कारण कुनै पनि हालतमा चुनाव नबिथोलिने दाबी गर्नुभएको छ ।
गृह मन्त्रालयले मंगलबार कैलालीको धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेकाले घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभयो ।
उहाँले हाल देशभर ४ हजार ५ सय ५२ कैदीबन्दी फरार रहेको र उनीहरूलाई सुरक्षाकर्मीले धमाधम पक्राउ गरिरहेको पनि बताउनुभयो । लुटिएकामध्ये हालसम्म ७ सय २७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालले जानकारी दिनुभयो ।
सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री अर्यालले कसैलाई काखा र पाखा नगरिने स्पष्ट पार्नुभयो । सुरक्षाकर्मीको मनोबल बढाउन सरकार लागिरहेको उहाँको भनाइ छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तोकिएकै मितिमा निर्वाचन हुने वातावरण निर्माण गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।
सुरक्षा गोष्ठीमा गृहमन्त्री, गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुख र सुदूरपश्चिमका ९ वटै जिल्लाका सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।