
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु-प्लेसी नेपाल आएका छन् । उनले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएल खेल्दैछन् ।
विराटनगर हाल तालिकामा तेस्रो स्थानमा छ । उसले पाँच खेलमध्ये चारमा जित हात पारेका छन् । लिग चरणमा विराटनगरले लुम्बिनी लायन्ससँग बुधबार र सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्दैछ । फाफ डु-प्लेसीले बाँकी रहेको पुरै सिजन विराटनगरबाट खेल्ने छन् ।
उनकै कप्तानीमा दक्षिण अफ्रिकाले २०१४ र २०१६ को टी-२० विश्वकप खेलेको थियो । २०१८ र २०२१ मा चेन्नई सुपर किङ्सबाट दुई पटक आईपीएल जितेका डु-प्लेसीले राइजिङ पुणे सुपरजायन्ट, रोयल च्यालेन्जर्स बेंगलुरू र दिल्ली क्यापिटल्सका लागि पनि आईपीएल खेलेका छन् ।
उनले आरसीबीको कप्तानी समेत गरेका छन् । विश्वभरका अधिकांश लिग खेलेका डु-प्लेसीको कप्तानीमा सेन्ट लुसीया किङ्सले २०२४ को क्यारेवियन प्रिमियर लिग जितेको थियो । उनले दक्षिण अफ्रिकाका लागि ५० टी-२० आई खेलमा १ शतक र १० अर्धशतकसहित १५ सय २८ रन बनाएका छन् । टी-२० मा उनले ४ सय २४ खेलमा ११ हजार ९ सय ६ रन बनाएका छन् ।
२०१२ देखि २०१९ बीच दक्षिण अफ्रिकाको टी-२० आई टिमका कप्तानसमेत रहेका डु-प्लेसीले आफ्नो देशको एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट टोलीको कप्तानीसमेत गरेका छन् । ४१ वर्षीय डु-प्लेसीले एकदिवसीय अन्तर्राष्ट्रियमा १२ शतकसहित ५५ सय ७ र टेस्ट क्रिकेटमा १० शतकसहित ४१ सय ६३ रन प्रहार गरेका छन् ।