नेपालमा एचआइभीको संक्रमण दर घट्दै

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा एचआइभीको संक्रमण दर घट्दै

काठमाडौं । नेपालमा सन् २००० यताका उच्च देखिएको एचआइभीको नयाँ संक्रमण दर २०२४ को अन्त्यसम्म आइपुग्दा ८९ प्रतिशत घटेको छ । 

तर सरकारले सोचे अनुरूपको उपलब्धी हासिल गर्न भने सकेको छैन । नेपालमा अझै प्रत्येक दिन १ दशमलब ७ प्रतिशतमा संक्रमण देखिने गरेको तथ्याङ्क छ । सरकारले सन् २०३० सम्ममा अनुमानित एचआइभी संक्रमितमध्ये ९४ प्रतिशतको पहिचान गर्ने, तीमध्ये ९५ प्रतिशतलाई उपचारको दायरामा ल्याउने र औषधि सेवन गर्नेमध्ये ९५ प्रतिशतमा भाइरसको भार न्यून गर्ने लक्ष्य लिएको थियो । तर दातृ निकायहरूको बजेट काटिँदा तथा स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कम हुँदा त्यसलाई हासिल गर्न चुनौती सरकारी अधिकारीहरूको भनाइ छ ।

नेपालमा सन् २०२४ मा ५ सय ६९ जनाको एड्सका कारणले मृत्यु भएको अनुमान छ । हाल देशका ७७ वटै जिल्लाका स्वास्थ्य संस्थाहरूबाट एचआइभी परामर्श तथा परीक्षण सेवा नि:शुल्क दिइरहे पनि ६४ जिल्लाका ९६ ए‍आरटी सेन्टरमा मात्र नि:शुल्क एन्टिरेट्रोभाइरल उपचार उपलब्ध छ । चिकित्सकहरुका अनुसार समयमै पत्ता लागेर औषधि सेवन गरेमा एचआइभी भएका मानिसहरु सामान्यसरह नै बाँच्न सक्छन् ।

हाल नेपालमा ३४ हजार ३ सय ३७ जनामा एचआइभी संक्रमण रहेको अनुमान सरकारको छ । तीमध्ये २६ हजार २ सय ७२ जना अर्थात् ७७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् भने अझै २३ प्रतिशत उपचारको दायराभन्दा बाहिर छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, कारागारमा रहेका कैदीबन्दी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र वैदेशिक रोजगारीमा भारत गएकाहरु तथा तिनका दम्पतिहरु उच्च जोखीम समूहमा पर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.