११औँ महाधिवेशनमा ओली बनाम पोखरेल : प्रतिनिधि मनाउने दौड तीव्र, प्यानल घोषणामा सकस

मंसिर १५, २०८२ |दशरथ राई
११औँ महाधिवेशनमा ओली बनाम पोखरेल : प्रतिनिधि मनाउने दौड तीव्र, प्यानल घोषणामा सकस

काठमाडौं । नेपाली कांग्रेसले बल्लतल्ल महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउँदा नेकपा एमालेलाई भने महाधिवेशनले छ्याप्पै छोपेको छ। 

११ औँ महाधिवेशनमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वका लागि भिड्न तयार हुँदा जिल्ला-जिल्लाबाट छनोट भएका महाधिवेशन प्रतिनिधिलाई फकाउने र मनाउने क्रम पनि सुरू भइसकेको छ। तर अध्यक्षका दुबै दाबेदारले प्रचारसमेत तिव्र बनाइसक्दा आ-आफ्नो पक्षको प्यानल भने घोषणा गर्न सकेका छैनन्।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि शनिबार भएको प्रतिनिधि छनोटको नतिजा अधिकांश क्षेत्रबाट आइसक्दा अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिनिधिहरू आफ्नै पक्षको भएको भन्दै दाबी गरिरहेका छन् । तेस्रो कार्यकालका लागि ओली नै अघि सरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्षको उमेरदवारका रूपमा अघि सारिएको छ। 

पोखरेल समूहलाई उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेको समर्थन छ । पोखरेललाई सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले पनि समर्थन गरेका छन् । पोखरेल समूहले सामाजिक सञ्जालबाट प्रचारप्रसार सुरू गरिसकेको छ ।

पोखरेल पक्षले जेन-जी आन्दोलनपछि राजनीतिक कोर्स नै परिवर्तन भएको भन्दै नेतृत्व पुस्तान्तरण हुनुपर्ने माग उठाइरहेको छ । तर ओलीपक्षले जेन-जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमपछि एमालेलाई राजनीतिक घेराबन्दी गरेको र सबैतिरबाट आक्रमण भइरहेकाले ओली नै अध्यक्ष हुनुपर्ने दाबी गरिरहेको छ ।

ओलीलाई उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिव पद्मा अर्यालले सघाइरहेका छन् । यो समूहले पनि गत सातादेखि सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारिरहेको छ । तर महाधिवेशनका लागि दुई साताभन्दा कम समय बाँकी रहँदा पनि दुवै समूह प्यानल घोषणा गरेर अघि बढ्न सकेका छैनन् ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।