भदौ २३ को जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा तत्कालीन सरकारले नै लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

ईश्वर पोखरेललाई एमाले अध्यक्ष बनाउन नवौं महाधिवेशनमै भद्र सहमति भएको खुलासा
मंसिर १५, २०८२ |रुपेश श्रेष्ठ
भदौ २३ को जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा तत्कालीन सरकारले नै लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । भदौ २३ गते जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालिन सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ। 

तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको बताउनु र सुरक्षा संयन्त्रले समेत आफूलाई पर्याप्त सूचना नदिएको भन्नू उहाँकै कमजोरी भएको भण्डारीको भनाइ छ। कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै भण्डारीले भन्नुभयो - जो प्रधानमन्त्री हुन्छ, उसैले आफ्नो कार्यकालभरको जिम्मेवारी लिनुपर्छ ।

तर, भण्डारीले २४ गते भएको आगजनी, तोडफोड र लुटपाटको घटना भने प्रायोजित हुनसक्ने आशंका व्यक्त गर्नुभयो। लामो समयको तयारी नभई त्यस प्रकृतिको ध्वंस हुन नसक्ने तर्क गर्दै भण्डारीले यसबारेमा गम्भीर छानबिन हुनुपर्ने बताउनुभयो ।

अर्को प्रसँगमा भण्डारीले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई केपी ओलीपछि अध्यक्ष बनाउने विषयमा नवौं महाधिवेशनकै क्रममा भद्र सहमति भएको खुलासा गर्नु्भयो। ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेललाई आफूपछि अध्यक्ष बनाउन त्यतिबेला ओलीले समेत सहमति जनाएको भण्डारीको दाबी छ।

पूर्वराष्ट्रपति भण्डारीसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे कार्यक्रम 'फायरसाइड'मा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका निमित्त समाचार प्रमुख हुन् ।