
कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्र सक्रिय बन्दै गएको समयमा गृहमन्त्री ओमप्रकाश अर्याल साेमबार प्रदेशको सुरक्षा तथा पूर्वाधार अवस्थाको अवलोकनका लागि कञ्चनपुर र कैलालीको भ्रमणमा हुनुहुन्छ ।
मंगलबार कैलालीको धनगढीमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुदूरपश्चिम पुग्नु भएका मन्त्री अर्यालले आजै कञ्चनपुरका रणनीतिक महत्वका आयोजनाहरूको स्थलगत अनुगमन गर्नु भएको छ । निरीक्षणका क्रममा उहाँले पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै महाकाली नदीमा निर्मित तटबन्ध क्षेत्र, निर्माणाधीन दोधाराचाँदनी सुक्खा बन्दरगाह, मझगाउँ विमानस्थल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनु भएको छ ।
यसअघि मन्त्री अर्यालले धनगढी पुगेलगत्तै प्रदेशस्तरीय सुरक्षा गोष्ठीको तयारीबारे गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकसहित उच्च सुरक्षा अधिकारीहरूसँग प्रारम्भिक समन्वय र गौरीफण्टा-डोकेबजार सीमानाकाको स्थलगत अवलोकन पनि गर्नु भएको थियो ।
मंगलबारको गोष्ठीमा निर्वाचन सुरक्षासम्बन्धी तयारी, जोखिमयुक्त क्षेत्रको पहिचान, सीमा व्यवस्थापन, द्रुत प्रतिक्रिया टोली, साइबर सुरक्षा र सुरक्षा निकायबीचको कार्ययोजनाबारे विस्तृत छलफल हुनेछ । गोष्ठीले आगामी निर्वाचनलाई शान्त, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक निर्देशिका तथा कार्यान्वयन योजना तय गर्ने अपेक्षा गरिएको छ ।
स्थलगत निरीक्षणका क्रममा मन्त्री अर्यालले सार्वजनिक अभिव्यक्ति नदिए पनि सुरक्षाबारे सरोकारवाला निकायसँग बुझ्नु भएको छ ।