सीप सिकेर उद्यममा जुटे काठमाडौंका महिला, महानगरको कार्यक्रमले बढायो आत्मनिर्भरता

पुस १२, २०८२ |नारायण किलम्बू
सीप सिकेर उद्यममा जुटे काठमाडौंका महिला, महानगरको कार्यक्रमले बढायो आत्मनिर्भरता

काठमाडौं । काठमाडौंका भित्री बस्तीका महिलाहरू महानगरको सहकार्यमा सीप सिकेर सामूहिक उद्यममा लागेका छन् । 

उनीहरूको उद्यमशीलताका लागि काठमाडौं महानगरपालिकाले सुरू गरेको एक वडा एक नमूना कार्यक्रम प्रभावकारी देखिएको छ । सीप सिकेर सामूहिक उद्यममा लागेका उनीहरू आफ्नो कमाइसँग सन्तुष्ट पनि छन् । महिलाहरूले सिकेका सीपलाई बजारसम्म पुर्याउन महानगरपालिकाले तीन दिने उद्यमी महोत्सव नै आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाले महिलालाई प्राथमिकता दिइ एक वडा एक नमुना कार्यक्रम अन्तर्गत हरेक वडामा सीप विकाससम्बन्धी विभिन्न तालिमहरू दिएको थियो । मौलिक सीप र उत्पादनलाई प्रवर्द्धन र बजारीकरण गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा ३२ वटा वडाकै महिला उद्यमीहरू सहभागी छन् । 

तालिमको क्रममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारी उनीहरूले नेवारी पहिरन हाकुपटासी, सचिका (धागो), सुर्के थैली, छालाको जुत्ता, ढाकाका कपडा सिलाउने, अचार, मुकुन्दो, फूललगायत तयार पारेका छन् । एक थलोमा धेरै किसिमका स्थानीय उत्पादनहरू अवलोकनसँगै किन्न पाउँदा उपभोक्ताहरू पनि खुसी देखिएका छन् ।

हरेक वडाको आ-आफ्नै विशिष्ट पहिचान झल्किने र बजारको माग भएका बस्तुहरूको महिलाहरूलाई तालिम दिएको थियो । महिलाहरूको आय-आर्जन र जीवनयापनमा सहयोग पुर्याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । उत्पादित सामग्रीको बजारीकरणमा पनि मेला प्रभावकारी हुने महानगरपालिकाको भनाइ छ ।

सीप विकासको तालिमपछि आत्मनिर्भरसँगै घरायसी खर्च आफैं कमाउन सक्षम भएको सहभागी महिलाको अनुभव छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।