कलाकारको नाम दुरूपयोग गरी अनलाइन ठगी बढ्यो, सामूहिक कानुनी कारबाहीको तयारी

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कलाकारको नाम दुरूपयोग गरी अनलाइन ठगी बढ्यो, सामूहिक कानुनी कारबाहीको तयारी

काठमाडौं । पछिल्लो समय अनलाइन ठगी र साइबर क्राइमका घटना बढ्दै गइरहेका बेला कलाकारहरू पनि यसबाट पीडित हुन थालेका छन् । 

कलाकारहरू अनमोल केसी, स्वस्तिमा खड्का, केकी अधिकारी, तृष्णा गुरूङ, आकाश श्रेष्ठलगायतका नाममा सामाजिक सञ्जालमा नक्कली अकाउन्ट खोलेर पैसा माग्ने क्रम बढेको हो । उनीहरू अहिले आफ्नो नाम प्रयोग गरेर पैसा मागिएको स्क्रीन सट सार्वजनिक गर्दै सर्वसाधारणलाई सचेत गराइरहेका छन् भने कानुनी कारबाहीका लागि सामूहिक निवेदन दिने तयारीमा छन् ।

नायक अनमोल केसीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो नाम र तस्बिर प्रयोग गर्दै फोन म्यासेजमार्फत आर्थिक सहयोग माग्ने गरेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । उहाँले त्यस्ता मेसेजको प्रतिक्रिया नदिन तथा ब्लक र रिपोर्ट गरी सुरक्षित रहनसमेत आग्रह गर्नु भएको छ । 

त्यस्तै शुक्रबार नै नायिका रिमा विश्वकर्माले आफ्नो नाम र पहिचान प्रयोग गरी पैसा मागिरहेको जानकारी आएकाले यस्ता गतिविधि देखिएमा रिपोर्ट गर्न तथा अरूलाई पनि सचेत गराइदिन अनुरोध गर्दै फोन नम्बर नै सार्वजनिक गर्नुभयो । नायिका केकी अधिकारीको प्रोफाइल फोटो राखेर उहाँ गइरहने सैलुनकी सञ्चालिकालाई केही दिनअघि एक अपरिचित नम्बरबाट ३० हजार माग गरियो । 

पछि सैलुन सञ्चालिकाले अधिकारीलाई खबर गर्दा गलत सावित भयो । यसरी नै केकीका अर्का एक साथीलाई पनि त्यही नम्बरबाट उही शैलीको मेसेज पठाइएको थियो । त्यस्तै, अभिनेता आकाश श्रेष्ठको तस्बिर र नाम प्रयोग गरी भाइबर र ह्वाट्सएपबाट आर्थिक सहयोग मागिएको छ । 

उक्त व्यक्तिले आकाशको तस्बिर प्रयोग गरी आमा बिरामी भएको र पैसा तुरून्तै चाहिने भन्दै २५ हजार रूपैयाँसम्म मागेको स्क्रीनसट उहाँले सार्वजनिक गर्नुभएको छ । श्रेष्ठले प्रविधिको दुरूपयोग गरी पठाइएका यस्ता भ्रामक सन्देशको कुनै प्रतिक्रिया नदिन र सतर्क रहन आग्रह गर्नुभएको छ । 

त्यस्तै गायिका तृष्णा गुरूङले आफ्नो नाम प्रयोग गरी मानिसहरूलाई पैसा माग्ने गरिएको भन्दै सामाजिक सञ्जालमा स्क्याम अलर्ट जारी गर्नुपरेको थियो । यसरी कलाकारहरू एकपछि अर्कोगरी स्क्यामरको निशानामा पर्न थालेपछि एकमुष्ट रूपमा कानुनी कारबाहीका लागि निवेदन दिने तयारीमा छन् ।

कलाकारका नजिकका साथी, सामाजिक सञ्जालमा पोष्टहरू ट्याग गरेका व्यक्ति र फलोअर्सहरू छानेर पैसाको डिमान्ड गर्ने गरिएका छन् । एकपछि अर्को गर्दै कलाकारको नाम दुरूपयोग हुन थालेपछि संगठित रूपमा गिरोह नै सक्रिय छ कि भन्ने आशंका कलाकारहरुको छ । 

उसो त पछिल्लो समय नेपालमा अनलाइन ठगी र साइबर क्राइमका घटना बढ्दै गइरहेका छन । नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पटक-पटक सचेतना सामग्री जारी गर्दै आएको छ । यसरी विभिन्न बहानामा रकम मागे सत्यतथ्य प्रमाणित गरेर तथा व्यक्तिको सही पहिचान गरेर मात्र सहयोग गर्नुपर्ने साइबर ब्युरोको सुझाव छ ।

साइबर ब्यूरोका अनुसार केही वर्षयता साइबर अपराधका उजुरी अत्यधिक बढ्दै गएका छन् । पछिल्लो पाँच महिनामै साइबर अपराधका २४ सयभन्दा बढी उजुरी दर्ता भएका छन् । तीन वर्ष यता स्क्यामिङ, फिसिङ, ह्याकिङजस्ता अनलाइन ठगी र विद्युतीय अपराधका घटनामा तीन सय प्रतिशतसम्म वृद्धि भएको ब्युरोको तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.