रास्वपा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पक्षबीच ७ बुँदै सहमति

रवि लामिछाने पार्टी सभापति, बालेन्द्र भावी प्रधानमन्त्रीको उम्मेदवार
जेनजीका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने सहमति
पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पक्षबीच ७ बुँदै सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ । आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनु हुनेछ भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने जेलमुक्त भए लगत्तै महानगरका प्रमुख बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा संवाद र प्रयास हुँदै आएको थियो । सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल भइरहेको थियो । पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः आज बिहान सहमति भएको हो ।

हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले, डिपि अर्याल, शिशिर खनाल, असिम शाह र बालेन पक्षका कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भुपदेव शाह, सुदीप ढकाल लगायत उपस्थित थिए ।

सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सहमतिपत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता पनि व्यक्त गरिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ । 

सहमति अनुसार बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने उल्लेख छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.