एनभीए क्लब भलिबल : आर्मीको विजयी सुरूआत, रूकुम पश्चिम पनि प्रभावशाली

पुस १२, २०८२ |खेल ब्युरो
एनभीए क्लब भलिबल : आर्मीको विजयी सुरूआत, रूकुम पश्चिम पनि प्रभावशाली

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनसिपमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌-राखेपको कभर्डहलमा शनिबार सम्पन्न खेलमा आर्मीले कोशीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । तिनवटै सेटमा आर्मीलाई कडा चुनौती दिए पनि कोशीले आफू अनुकूल नतिजा हात पार्न सकेन । पहिलो सेट २५-२३ ले गुमाएको केशीले दोस्रो र तेस्रो सेट ड्यूस पोइन्टसम्म पुर्याए पनि एक्सटेन्डेट स्कोरमा एडभान्टेज लिन सकेन । 

यससँगै आर्मीले दुबै सेट २७-२५ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्यो । रोमाञ्चक खेलमा अनुभवको कमीका कारण कोशीले साझो सेटमा पराजय बेहोर्यो । यससँगै समूह 'डी' मा रहेको आर्मीले ३ अंक जोडेको छ । 

पुरूषतर्फ शनिबारनै सम्पन्न दिनको दोस्रो खेलमा रूकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरले बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । विदेशी खेलाडीहरूको साथ रहेको रूकुम पश्चिमविरूद्ध बुढानिलकण्ठको प्रदर्शन औशतमात्र हुन सक्यो । रूकुमले पहिलो सेट २५-१९ दोस्रो सेट २५-२१ र तेस्रो २५-२१ ले आफ्नो पक्षमा परेको हो । योससँगै रूकुमले पहिलो खेलबाट ३ अंक जोडेको छ ।