
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री कार्कीले त्यसका लागि उचित वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री खरेलकाअनुसार कांग्रेस सभापति देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि एमाले अध्यक्ष ओलीलाई निर्वाचनमा लागि तयार हुन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताहरूबीच निर्वाचनमा जाने समझदारी भएको पनि सञ्चारमन्त्री खरेलको दाबी थियो ।
यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग तोकिएकै मितिमा निर्वाचन गराउने विषयमा छलफल भएको थियो ।