.png&w=1000&height=550)
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-१० प्रसियामा अन्तरजातीय विवाह गरेको आरोपमा आगजनी गरेको विषयमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ भने पीडित परिवारका सुरक्षाका लागि प्रहरीले निगरानी बढाएको छ । तर आगजनी गरिएको घरका परिवारको त्रास घटेको छैन ।
स्थानीय सद्दाम बेहनाको घरमा बिहीबार राति एक समूहले आगजनी गरेको हो । प्रेम सम्बन्धपछि २५ वर्षीय लोध थरकी युवती अन्तरजातीय विवाह गरेपछि अज्ञात समूहले सद्दाम बेहनासहित आफन्तीको घर आगजनी गरेका थिए । बेहनाको घरमा गरिएको आगो सल्किएर अरू चारवटा घरटहरासमेत जलेका थिए ।
सदरमुकाम गुलरिया नगरपालिका-१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति घरटहरामा आगजनीपछि अहिले अवस्था सामान्य भएपनि त्रास नघटेको हो । टेन्ट लगाएको टहरामा उनीहरू ढुक्कले सुत्न सकेका छैनन् । प्रहरीले पीडित परिवारको सुरक्षाका लागि निगरानी बढाएको छ । घटनाका सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अन्य संलग्न भएकाको खोजी भइरहेको छ ।
आगजनी पछि सद्दामलगायत आफन्ती ज्यान जोगाएर भागेका थिए । आगजनीपछि पुर्ण रूपमा क्षति भएका घर परिवारलाई गुलरिया नगरपालिकाले टेन्ट, खाद्यान्य, लत्ता कपडासहितका सामग्री सहयोग गरेको छ ।