वैकल्पिक शक्तिहरूको एकता प्रयास अल्झियो : नेतृत्व र प्रधानमन्त्रीको मुद्दामा जुटेन सहमति

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैकल्पिक शक्तिहरूको एकता प्रयास अल्झियो : नेतृत्व र प्रधानमन्त्रीको मुद्दामा जुटेन सहमति

काठमाडौं । वैकल्पिक शक्तिहरूबीच एकता गर्ने एक सातादेखिको प्रयास जारी छ । 

शनिबार पनि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच एकताका लागि छलफल भएको छ । रास्वपा सभापति लामिछाने र बालेन्द्र शाहबीच केन्द्रीय सदस्य तथा समानुपातिकको सिट बाँडफाँट र निर्वाचनपछि प्रधानमन्त्री कसले लिने लगायतबारे छलफल केन्द्रित भए पनि सहमति हुन सकिरहेको छैन् । 

दुबै पक्षका कार्यदलले सहमतिको खाकामा काम सकेर लामिछाने र शाहबीच छलफल भएको हो । दुबै पक्षबीच रास्वपाको घण्टी चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने विषयमा सहमति भए पनि पार्टीभित्र दोस्रो बरियताको हैसियत बालेन्द्र शाहलाई दिने र निर्वाचनमा प्रधानमन्त्रीको रूपमा अघि सार्ने विषयमा कुरा मिल्न सकिरहेको छैन । यो विषयमा रास्वपाका नेताहरूले असन्तुष्टि जनाएपछि कुरा नमिल्न नसकिरहेको हो ।

उता कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ दलसँग एकता भइ गठन हुने पार्टीको सभापति रवि लामिछाने र आगामी चुनावपछिको प्रधानमन्त्री काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह हुने प्रस्ताव अस्वीकार गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले रास्वपा र बालेन्द्र शाहले गरेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नयाँ वैकल्पिक पार्टीहरूबीच एकता गरेर जाने विषयमा सहमति रहेको भए पनि नेतृत्वको विषय अस्वीकार गरेको छ ।

उज्यालो नेपाल पार्टीले रास्वपा सभापति लामिछाने, बालेन्द्र शाह र उज्यालो पार्टीसहित तीन जनाको अध्यक्ष मण्डल गठन गरेर जानुपर्ने प्रस्ताव अघि सारेको छ । त्यसैगरी चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जान नसकिने धारणा पनि उज्यालो नेपालले सारेको छ । 

यसअघि आजै बिहान घिसिङ र बालेन्द्र शाहवीच वैकल्पिक शक्तिवीच सहकार्य गरेर जाने विषयमा कुराकानी भएको थियो । शाहसँगको भेटलगत्तै घिसिङले दिउँसो एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने जिकिर गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.