
काठमाडौं । नेपालकै प्रतिष्ठित व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल गल्फ टूर २०२५-०२६ सिजन सोमबारदेखि काठमाडौंबाट सुरू हुने भएको छ ।
सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आयोजना हुनेछ । नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरहरूको सहभागिता रहने यो प्रतियोगिता कुल ७२ होलमा खेलाइनेछ । प्रो गल्फर सुवास तामाङ र युवा एमेच्योर गल्फर सद्भाव आचार्यले यो प्रतियोगिता खेल्ने छैनन् ।
सेन्ट्रल ओपनमा पहिलो दुई राउन्डको ३६ होल पछि कट सुरू हुनेछ । शीर्ष १८ व्यावसायिक खेलाडी तथा प्रो-कट पार गर्ने एमेच्योर खेलाडीहरू अन्तिम ३६ होलमा प्रवेश गर्नेछन् । यसअघि २१ खेलाडीले कट बचाउने प्रावधान थियो । प्रतियोगिताको कुल पुरस्कार राशी १० लाख ५० हजार रुपैयाँ रहेको छ ।
विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार, तेस्रो स्थानले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ व्यावसायिक खेलाडीले पुरस्कार पाउनेछ । सूर्य नेपाल गल्फ टूर २०२५-२६ मा कुल ८ वटा प्रतियोगिता हुनेछन् । यस सिजनको कुल पुरस्कार राशी ८० लाख १० हजार रुपैयाँ रहेको छ ।