.png&w=1000&height=550)
धनुषा । जेन-जी आन्दोलनपछि मधेशका युवामा स्थानीय सरकारसँगै अन्य सरकारी र गैरसरकारी निकायको काम कारबाहीप्रति चासो बढेको छ।
हरेक विषयमा राजनीतिक भागबन्डा र बजेट बाँडफाँडको किचलोले गाउँठाउँको विकास प्रभावित भएको देखेर युवाहरूले चासो देखाउनुका साथै जनप्रतिनिधि र कर्मचारीलाई सचेत गराउन सक्रिय हुन थालेका हुन् । युवाहरूकै सक्रियतापछि धनुषाका पालिकाले बजेट सार्वजनिक गरेका छन् भने सेवा प्रवाहलाई पनि चुस्त बनाएका छन् ।
यो धनुषाको औरही गाउँपालिकाको कार्यालय हो । स्थानीय सरकार गठन भएको सात वर्षपछि जनप्रतिनिधि र कर्मचारीहरूले दिँदै आएको सेवा प्रवाहप्रति युवाहरू चासो देखाउन थालेका छन् । यसै गाउँपालिकाअन्तर्गत वडा नम्बर १ झिटकोहियाका युवाहरूको एक समूहले कार्यालय मै पुगेर आफ्नो र सेवाग्राहीहरूको समस्याबारे जनप्रतिनिधिलाई अवगत गराएको हो ।
जनप्रतिनिधिहरू बीच राजनीतिक किचलो र बजेट बाँडफाँडमा सहमति हुन नसकेपछि नवनिर्मित यस भवनको उदघाटन र चालू आर्थिक वर्षको बजेट समेत बन्न सकेको थिएन । युवाहरूको दबाबपछि जनप्रतिनिधिहरूले पाँच करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको एक वर्ष पछि समुद्घाटन र निर्धारित समय भन्दा झन्डै चार महिनापछि गाउँ सभाका साथै बजेट समेत पारित गरेको हो ।
यसअघि स्थापनाकालदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रको परिसरभित्र अस्थायी संरचना निर्माण गरि पुरानो भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको थियो । यस औरही गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/८३ को बजेट ३२ करोडभन्दा बढी रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत कोठामै बसेर नेताहरूको भनसुन र सिफारिसको आधारमा यहाँ बजेट बनाउने प्रवृत्ति छ । अब उप्रान्त टोल र वडा स्तरीय भेला बोलाएर मात्र आवश्यक योजनाहरूको पहिचान गरी कामको प्रकृतिको प्राथमिक हेरेर मात्र बजेट छुट्याउन जनप्रतिनिधिलाई युवाहरूको सुझाव र दबाब छ ।
नागरिकलाई उचित सेवा दिनुभन्दा पनि आफू आबद्ध राजनीतिक दलका ठुला नेताहरूलाई खुसी पार्नमै जनप्रतिनिधिहरू केन्द्रित भएपछि यहाँको विकास कार्य प्रभावित हुँदै आएको छ । कतिसम्म भने जमुनी जलाद खोलामा बर्षेनि आउने बाढी र डुबान, शिक्षा, स्वास्थ्य, सरसफाइलगायत उचित सामाजिक विकास हुन सकेको छैन । पछिल्लो समय जेन-जी उमेर समूहका युवाको सरकारी कार्यालयमा देखाएका चासो र सक्रियताले सुशासनको अपेक्षा गरिएको छ ।