बीएनपीका अध्यक्ष तारिक रहमानले फागुन ११ गते प्रधानमन्त्रीको सपथ लिँदै

फाल्गुन ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बीएनपीका अध्यक्ष तारिक रहमानले फागुन ११ गते प्रधानमन्त्रीको सपथ लिँदै

काठमाडौं । बंगलादेशमा भएको निर्वाचनबाट दुई–तिहाइ सिट जितेको बंगलादेश राष्ट्रिय पार्टी-बीएनपीका अध्यक्ष तारिक रहमानले यही फागुन ११ गते प्रधानमन्त्रीको सपथ लिनुहुने भएको छ । 

उहाँले उक्त दिन मन्त्रीहरूसँगै सपथ लिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सपथ समारोहका लागि नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, यूएई, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरूलाई निम्ता गरिएको छ ।

बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लाजामा यो सपथ समारोह हुनेछ । विगतमा सपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेकोमा यसपटक ठूलो संख्यामा अतिथी निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ ।

बिहीबार २ सय ९९ स्थानमा सम्पन्‍न निर्वाचनमा २ सय ९७ सिटको मतगणनामा हुँदा बीएनपीले २ सय ९ सिट जितेको थियो । बाँकी दुई सिटमा अदालतले तत्काल मतगणना नगर्न आदेश दिएको थियो । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको छ ।

बंगलादेशको जातीय संसद्‍मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । यसमा पार्टीहरूले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधारमा मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ ।