ललितपुर-१ मा यसपटक रोचक चुनावी प्रतिस्पर्धा

फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
ललितपुर-१ मा यसपटक रोचक चुनावी प्रतिस्पर्धा

काठमाडौं । अधिकांश क्षेत्र दुर्गम रहेको ललितपुर क्षेत्र नम्बर १ मा यसपटक रोचक हुँदै छ चुनावी प्रतिस्पर्धा । 

यसअघि ४ पटक चुनाव लडेर २ पटक जित हासिल गरेको नेपाली कांग्रेसका उदयशमशेर जबरादेखि नयाँ दलसम्म जित निकाल्ने लक्ष्यसहित चुनावमा होमिएका छन् । एमाले पनि पाँचौं जित निकाल्ने दाउमा छ । तर मतदाता भने विकास गर्ने उम्मेदवारको खोजीमा छन् ।

संवाददाता विकास आचार्यले दक्षिणी ललितपुर पुगेर तयार पारेको यो रिपोर्ट ।

जुनुसकै दलका नेतालाई जतिसुकैचोटि जिताए पनि ललितपुरको ग्रामीण भेगको अवस्थामा परिवर्तन आउन सकेन । सडक, खानेपानीलगायतका पूर्वाधारको अवस्था दशकौंसम्म उस्तै रहे । शहरबाट अगाडि बढ्दै जाँदा सार्वजनिक यातायातसमेत सहज छैन । स्थानीय रमेश तिमिल्सिनाले भन्नुभयो- अब परिवर्तनको आशा गरेका छौं ।

२०४८ यता यस क्षेत्रबाट नेकपा (एमाले) र नेपाली कांग्रेसले पालैपालो जित्दै आएका छ्न् । एमालेका मिठाराम शर्मा बजगाइँले ललितपुर १ मा २ पटक जित्नु भयो-२०४८ र २०५१ मा । २०५६ मा एमालेकै सुशीला नेपाल विजयी हुनुभयो । २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा भने एमालेको जितमा ब्रेक लाग्यो । 

त्यतिबेला तत्कालीन नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन निर्वाचित हुनुभयो । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने कांग्रेसका उदयशमशेर जबरा निर्वाचित हुनुभयो । एमाले र माओवादी केन्द्रले जित्दै आएको क्षेत्रमा पहिलोपटक कांग्रेसले जितेको थियो । २०७४ मा एमालेका नवराज र २०७९ मा कांग्रेसकै उदयशमसेर जबरा यस क्षेत्रबाट सांसद् बन्नुभयो । 

२०४८ यताका सात निर्वाचनमा यस क्षेत्रबाट ४ पटक एमालेले, २ पटक कांग्रेसले र एक पटक माओवादी केन्द्रले जित हासिल गरेको छ । यसपटक एमालेले चेतनाथ सञ्जेललाई पठाएर जित फर्काउने रणनीति बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बुद्धरत्न महर्जन र नेपाली कम्युनिष्ट पार्टीले सुनिल महर्जनलाई उठाएको छ । 

कांग्रेसले पाँचौं पटक उदयशमशेर जबरालाई उम्मेदवार बनाएको छ । यहाँ १२ दलका र स्वतन्त्र गरी २८ उम्मेदवार प्रतिस्पर्धामा छन् । ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका केही वडा र कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिका मिलेर बनेको छ । 

कुल ७७ हजार ७ सय ३७ मतदाता रहेकामा महिला मतदाताको संख्या ५० दशमलव ०४ प्रतिशत छ भने महिला उम्मेदवार ३ जनामात्रै छन् । मतदातामा महिला धेरै तर, उम्मेदवारमा पुरूष धेरै छन् ललितपुर १ मा । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.