धनुषा । चुरे क्षेत्र अतिक्रमण र दोहनका कारण वन मासिएर तराई मधेशमा बर्षेनि खानेपानी, सिँचाइलगायतका समस्या विकराल बन्दै गएको छ ।
पानीको हाहाकार भएपछि गत बर्खामा संघीय र प्रदेश सरकारले मधेशलाई सुक्खा क्षेत्र घोषणा ग परेको थियो । चुरे वन संरक्षण र पानी संकट समाधानलाई दलहरूले चुनावका बेला उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता जनाउँछन् । तर व्यवहारमा भने मधेशको जलसंकट गहिरिँदो छ ।
धनुषाको बटेश्वर गाउँपालिका-४ की गीता साह पछिल्लो १५ वर्षदेखि घरलाई चाहिने पिउनेपानी कुवाबाट ल्याउनुहुन्छ । दुईवटा चाँपाकल गाड्दा पनि उहाँकोमा पानी आएन । त्यसैले उहाँले खानेपानीको जोहो गर्ने छिमेकीको घरमा खनिएको कुवालाई समेत २० हजार रूपैयाँ खर्च गर्नुपर्यो ।
उहाँलाई अब फेरि गर्मी लाग्ने बित्तिकै पानी नपाइने चिन्ताले सताएको छ किनभने हिउँदमै कुवामा पानीको सतह घटिसकेको छ । यो टोलका एक सयभन्दा धेरै घरपरिवार सबैको समस्या समान छ । शुद्ध र स्वच्छ खानेपानीबाट वञ्चित उनीहरूलाई गर्मीयाममा त झन् सकस हुन्छ ।
नेपालमा कुल भू-भागको ४५ प्रतिशत वन क्षेत्र भए पनि जनघनत्व धेरै भएको मधेश प्रदेशमा ३ दशमलव ७२ प्रतिशतमात्र वन क्षेत्र छ । जबकी स्वच्छ वातावरणका लागि कुल क्षेत्रफलको कम्तिमा ४० प्रतिशत वनजंगल हुनुपर्छ । यसै कारण तराई मधेशमा जलसंकटसँगै अन्य वातावरणीय समस्या बढ्दै छन् ।
चुनावमा होमिएका एमाले र कांग्रेसलगायतका दलले आफ्नो चुनावी घोषण पत्रमा मधेशको जलसंकटलाई कुनरूपमा उठाउँछन् हेर्न बाँकी नै छ । तर यी दलका धनुषाका उम्मेदवारहरूले चुरे संरक्षणसँगै खानेपानी र सिँचाइ आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
वन मन्त्रालयका अनुसार मधेशको २ लाख २ हजार २ सय हेक्टर वनले ओगटेको छ । जसमध्ये आठै जिल्लामा राष्ट्रिय, साझेदारी र कबुलियत वनसहित ६ हजार ८ सय ३१ हेक्टर वन क्षेत्र अतिक्रमित छ । चुरे क्षेत्रमा जथाभावी नदी दोहन तथा उत्खनन् जारी छ ।
नेपाली कम्युनिष्ट पार्टीका धनुषा-२ का उम्मेदवार रामचन्द्र झा आफू स्थानीय विकासमन्त्री हुँदा चुरे क्षेत्रमा भइरहेको जथाभावी दोहनमाथि रोक लगाउने निर्णय गरेको र चुरे संरक्षणको लागि पार्टीको प्रतिबद्धता पत्रमा समिटिएको दाबी गर्नुहुन्छ । रास्वपाबाट धनुषा-३ का उम्मेदवार मनिषकुमार झाले पनि आफूले संसद्मा पटक-पकट मधेशको जलसंकटको मुद्दा उठाएको र अगामी दिनमा पनि राष्ट्रिय मुद्दा बनाएर लग्ने बताउनुहुन्छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रको बुँदा नम्बर २७ मा चुरे संरक्षण तथा पानी संकट समाधानको लागि विभिन्न कार्यक्रम गरिने अमूर्त कुरा उल्लेख छ ।
चुरे जोगाएर मधेशको पानीसंकट समाधानमा संघीय सरकारको ध्यानाकर्षण गराउन गर्न अभियन्ताहरूले विरोध जुलुस, धर्नासँगै काठमार्डौंसम्म पैदलयात्रा गरेका छन् । तर जथाभावी उत्खनन् र अतिक्रमणले उजाड बन्दैगएको चुरेका कारण भूमिगत पानीको सतह घटेर मधेशको उर्वरभूमि बगर बन्दैगएको, उब्जनी घट्दै गएको र पिउनेपानीको हाहाकार हुन थालेको छ ।