हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मंसिर ९, २०८२ |हरिश्चन्द्र बाग
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टी स्याउलेमा गएराति हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गएराति करिब ३ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा पसेको हात्तीले भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने नन्दलाल बिष्टको कच्ची घर भत्काउने क्रममा भित्र सुतेकी उहाँकी श्रीमती ४५ वर्षीया धना बिष्टलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । घर भत्किएपछि भाग्ने क्रममा हात्तीले कुल्चिँदा धनाका खुट्टा, कुम र पिठ्यूँमा गम्भीर चोट लागेको थियो ।

घटना लगत्तै प्रहरी चौकी झोलुङ्गे र मझगाउँस्थित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घाइते बिष्टलाई तत्काल उद्धार गरि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका लागि पुर्‍याइएकोमा बिहान गरिब ०४:४५ बजे उपचारका क्रममा धना बिष्टको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।