.png&w=1000&height=550)
जनकपुर । जनकपुरधाममा यति खेर विवाहपञ्चमीको रौनक छ ।
त्रेतायुगमा राम-जानकीबीच भएको विवाहको सम्झना स्वरूप प्राचीन मिथिलाको राजधानी जनकपरधाममा साताव्यापी कार्यक्रम भइरहेको हो । विवाहपञ्चमीलाई भव्य र सभ्य बनाउन सबै पक्ष जुटेका छन् । मिथिला संस्कृतिको महत्वपूर्ण पर्व रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुरधामलगायत आसपासका क्षेत्रमा अहिले यस्तै मगंलगीत सुन्न पाइन्छ ।
त्रेता युगमा मंसिर शुक्लपक्षको पञ्चमी तिथिमा अयोध्याका राजा दशरथका पुत्र रामको मिथिला नरेश जनककी पुत्री जानकीसँग भएको वैवाहिक समारोहको सम्झनामा हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ साताव्यापी रूपमा विवाहपञ्चमी पर्व मनाउँछन् ।
जनकपुरधाम उपमहानगरपालिकासँगै विभिन्न संघ/संस्था र युवा क्लबहरूले विवाह उत्सवको विशेष तयारी थालेका छन् । अस्थायी बासका लागि पण्डाल निर्माण, शौचालय, खानेपानी, बिजुलीबत्ती, स्वास्थ्य शिविरलगायतको व्यवस्थापनमा जनकपुरबासी जुटेका हुन् ।
तीर्थयात्रुको सुविधाका लागि विभिन्न स्थानमा गाडी पार्किङ्गको व्यवस्था मिलाउनुका साथै तीन दिनसम्म अतिरिक्त सेवा सञ्चालन नेपाल रेल्वेले गरेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट तीर्थालुहरू मेला भर्न जनकपुरधाम आउन थालिसकेका छन् ।मिथिला संस्कृति अनुसार नगर दर्शन, फूलबारी लीला धनुषयज्ञ, तिलकोत्सव र मटकोर विधि गरिएको छ भने मंगलबार विवाहउत्सव आयोजना हुनेछ ।
यस वर्षको विवाह पञ्चमीमा १० लाख भन्दा बढी दर्शनार्थी जनकपुरधाम आउने अनुमान छ । महोत्सवलाई मर्यादित बनाउन र कुनै अप्रिय घटना हुन नदिन झन्डै २५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबारदेखि बुधवारसम्म भने जनकपुरधामको परिक्रमा क्षेत्र भित्र स्थानीय प्रशासनले माछा, मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।