
जनकपुर । पौराणिक, धार्मिक र सांस्कृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी मेला भर्न हजारौं तीर्थयात्रु जनकपुर आएका छन् । यस वर्षको विवाहपञ्चमीको मुख्य दिन भोलि अर्थात् मंगलबार हो ।
विवाहपञ्चमीमा देवी-देवताको प्रत्यक्ष उपस्थित रहने जनविश्वासका आधारमा मेला भर्न आउने तीर्थयात्रुको संख्या बढ्न थालेको हो । नेपालका विभिन्न स्थानका साथै भारतको बिहार, उत्तर प्रदेशलगायतका स्थानबाट साधु सन्त र गृहस्थ आश्रमका लाखौं तिर्थालु विवाह पञ्चमीमा सहभागी हुन आउँछन् ।
विवाह, स्वागत र मङ्गल गानले जनकपुधाम अहिले गुन्जयमान छ । तीर्थयात्रुको सुविधाका लागि बिजुलीबत्ती, पण्डाल, टेन्ट, अस्थायी शौचालय, भोजन, स्वास्थ्य शिविरलगायतको व्यवस्था गरिएको छ । साताव्यापी सिताराम विवाहपञ्चमी मनाउन स्थानीय प्रशासनले तीन दिनका लागि जनकपुरधाममा माछा, मासु र मदिरा बिक्री-वितरणमा रोक लगाएको छ ।
भयरहित र मर्यादित वातावरणमा मेला सम्पन्न गर्नका लागि १६ सय ५५ प्रहरी, ६ सय ६४ सशस्त्र प्रहरी र १ सय ४० जना ट्राफिक प्रहरी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले जानकारी दिनुभयो । मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरधामा विवाहपञ्चमी मनाइन्छ ।