कञ्चनपुर । तराई र मधेशका जिल्लामा मङ्गलबार रङको पर्व होली मनाइँदै छ ।
निर्वाचनको मौन अवधि र ग्रहणका कारण यसवर्षको होली त्यतिधेरै धुमधाम नभए पनि घरघरमा रङ र उमङ्गको माहौल भने रह्यो । सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथार" समुदायले पनि आफ्नो मौलिक परम्पराअनुसार एक महिना भन्दा लामो समयसम्म बनाउने 'होरी' पर्व मनाइरहेका छन्, जसले रङ मात्र होइन, समुदायको पहिचान, इतिहास र भाइचाराको सन्देश बोकेको छ ।
तराई र मधेशका जिल्लामा मंगलबार होली पर्व मनाइँदै छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा बसोबास गर्ने रानाथारू समुदायले भने यो होली पर्वलाई होरी पर्वका रूपमा मनाउने गर्दछन् । उसो त रानाथारू समुदायले माघ शुक्ल पूणिर्मादेखि फागुन पूणिर्मासम्म एक महिना जिउँदो होरी र अबको आठ दिन मरेको होरी खेल्ने गर्दछ ।
यसवर्ष मंगलबारदेखि नै निर्वाचनको मौन अवधि सुरू भएको र ग्रहण पनि लागेका कारणले त्यति धेरै धूमधामका साथ मनाएको पाइँदैन । यद्यपि घरायसी रूपमा रङ्ग लगाउने र सामान्य मनोरञ्जनात्मक गतिविधि भने भई नै रहेका छन् । होरी पर्व रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व पनि हो ।
यो समुदायले माघ शुक्ल पूणिर्माको दिनमा होरी राखी फागुन पूणिर्मामा जलाउने र त्यसको भोलिपल्ट टीका लगाई आठौं दिन खख्डेहरा मनाउने गर्दछ । होरी रङको पर्व मात्र नभएर रानाथारू समुदायको पहिचान र इतिहास बोकेको चाडपर्व पनि हो । होरीले एकापसमा अपनत्व र भाइचारा ल्याइ विभेदरहित समाज बनाउन सहयोग पुग्ने अपेक्षा गरिन्छ ।
रानाथारू समुदायले होरीको अन्तिम दिनका रूपमा खख्डेहरा मनाउने गर्दछन् । खख्डेहरा मनाउने दिन सुदूरपश्चिम सरकारले कञ्चनपुर र कैलालीमा सार्वजनिक बिदा समेत दिने गरेको छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको रौनक जति पहिले थियो, त्यो भने अहिले देखिँदैन । यस्ता पर्वलाई सभ्य र भव्य तरिकाले मनाउनको लागि पुरानो पिँढीबाट नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न अति आवश्यक छ ।