
काठमाडौं । गृह मन्त्रालयले निर्वाचन सुरक्षा चुस्त बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।
निर्वाचन विरोधी केही गतिविधि भए पनि त्यस्ता गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको भन्दै सुरक्षा चुनौती नरहेको बताएको हो । त्यस्ता गतिविधि गर्ने १ सय ४२ जनालाई पक्राउ गरिएको र ७६ जना हिरासतमै रहेको मन्त्रालयले जनाएको छ । सोमबार मात्रै नाै जना र मंगलबार एक जनालाई निर्वाचन भाँड्ने काम गरेको भन्दै पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको हो । भने विभिन्न ठाउँमा भेटिएका केही शंकास्पद वस्तु सुरक्षा निकायले डिस्पोज गरिरहेको छ ।
त्यसैगरी सुरक्षा निकायले सिमा क्षेत्रमा हुने गतिविधिमा निगरानी, मतदानको दिन हुन सक्ने संभावित झडप लगायतमा समेत निगरानी बढाएको छ । त्यसका लागि मोबाइल टोली परिचालन गरी विगतमा भएका र गर्ने सक्ने व्यक्तिलाई समेत निगरानीमा राखिएको जनाएको छ ।
योसँगै सामाजिक सञ्जालमा हुने गतिविधि पनि सुरक्षा निकायको निगरानीमा छ । अति संवेदनशील मतदान केन्द्रहरूमा तथा समुदायमासमेत रात्रि गस्ती पनि भइरहेको मन्त्रालयले जनाएको छ ।