निर्वाचनको उत्साह : दशैं-तिहारझैं घर फर्किँदै मतदाता

मताधिकार प्रयोग गर्न १६ घन्टाको यात्रा, फागुन २१ को पर्खाइमा मतदाता
फाल्गुन १९, २०८२ |विकास आचार्य
निर्वाचनको उत्साह : दशैं-तिहारझैं घर फर्किँदै मतदाता

काठमाडौं । फागुन २१ मा हुने निर्वाचनमा मत हाल्न थातथलो फर्किनेहरू बढ्न थालेका छन् । 

विशेषगरी अध्ययन तथा कामका सिलसिलामा काठमाडौं बस्दै आएकाहरू मुलुकको रूपान्तरणमा हिस्सेदार बन्न घर फर्किइरहेका छन् । घर पुगेकाहरूमा मतदानको दिनको व्यग्र प्रतीक्षा देखियो भने घर पुग्न बाँकीलाई कहिले पुगिएला भन्ने हतारो ।

तर सबैको एकमुष्ट बोली छ- मतदान गर्न उत्सुक छौँ । मत हाल्नकै लागि १६ घन्टाको थकानपूर्ण यात्रा गरेर कृष्ण लुइँटेल पाँचथरस्थित घर पुग्नुभयो । स्थिर सरकार र विकासको आकांक्षा बोकेर काठमाडौंबाट घर फर्किनुभएका लुइँटेल २१ गतेका लागि आतुर हुनुहुन्छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ठाडोढुंगाका नवीन शर्मा पनि निर्वाचनमा सहभागी हुन भन्दै आइतबार गृहनगर पुग्नुभयो । अध्ययनको सिलसिलामा काठमाडौंमा बस्दै आउनुभएका शर्मा अहिले छरछिमेकलाई बदर नहुने गरी मतदान गर्न सिकाइरहनुभएको छ ।

उहाँहरू मात्र होइन, अहिले काठमाडौंबाट बाहिरिने नाकाहरूमा पुगियो भने मताधिकार प्रयोग गर्न उल्लासपूर्वक नागरिकहरू थातथलोतर्फ गइरहेको देखिन्छ । दशैंतिहारको झल्को दिने गरी मतदाता घर फर्किइरहेका छन् । सोमबार मात्रै करिब ५० हजार जनाले काठमाडौं उपत्यका छाडेका छन् । यीमध्ये अधिकांश मत हाल्नकै लागि हिँडेका हुन् । 

नत्र सामान्यतः काठमाडौं उपत्यका छोड्नेको संख्या दैनिक २० देखि २५ हजार मात्र हो । यस्तै पछिल्लो दुई सातामा भक्तपुरको जगाती, ललितपुरको चापागाउँ, काठमाडौंको फर्पिङ र नागढुंगा हुँदै ७ लाख ५० हजारभन्दा बढीले काठमाडौं उपत्यका छाडिसकेका छन् । हवाई मार्गमा पनि एकतर्फी अर्थात् बाहिरिने ट्राफिक बढेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।