जुम्ला सदरमुकाम खलंगामा बनेको बसपार्क सात वर्षदेखि अलपत्र

मंसिर ६, २०८२ |डीबी बुढा
जुम्ला सदरमुकाम खलंगामा बनेको बसपार्क सात वर्षदेखि अलपत्र

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा बनेको बसपार्क सात वर्षदेखि अलपत्र छ । 

बसपार्कमा अहिले न गाडी पार्किङ भइरहेका छन् न त सवारीसाधनहरू सहजै रूपमा पार्किङ गर्ने व्यवस्था नै मिलाइएको छ । जग्गा विवादले बसपार्क सञ्चालन अनिश्चित हुँदा बसपार्कमा बनेको एक करोडको भवन जीर्ण बनेको छ । सदरमुकाम खलंगाको छेउतिर तिला नदीसँगै जोडिएको यो बसपार्क प्रयोगमा आउन धेरैपटक पहल गरियो । 

बसपार्कमा चाहिने न्यूनतम पूर्वाधारहरूसमेत बनिसकेका छन् । चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनको कार्यविधि पनि बनाइसकेको छ । तर अहिलेसम्म बसपार्क सञ्चालन हुन सकिरहेको छैन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरपछिको ठूलो सहर दाबी गरिएको जुम्लामा सवारीको चाप अत्यधिक छ । 

दैनिक सयौं गाडी सडकमै पार्किङ गर्ने गरिएको छ । बसपार्क सञ्चालन नहुँदा बजारका कुनाकुनामा यातायात व्यवसायीका काउन्टर राखिएका छन् । दुर्घटनाको जोखिम निम्त्याउने गरी सडकमै गाडी पार्किङ गरिए पनि सरोकारवाला मौन देखिन्छन् । साना अटोदेखि बस तथा ट्रकसम्मका सवारीसाधन सडकमै पार्किङ गरिरहेकोले समस्या बढिरहेको छ ।

बसपार्क जाने सडकमा जग्गा विवाद छ । सात जना जग्गाधनीले बिना मु-आब्जा जग्गा दिन मानिरहेका छैनन् । मु-आब्जा दिने बजेटको व्यवस्थापन हुनै सक्दैन । सडकको जग्गा क्लियर नगरी बसपार्क बनाउँदा अहिले निल्नु न ओकल्नुजस्तै बनेको छ । बसपार्क भवनको जस्ताको छानो चुहिनथालेको छ । पर्खाल चिरा परेका छन् । 

गाडी पार्किङ, यात्रु प्रतिक्षालय, टिकट काउन्टर, शौचालय, पानी बत्तीलगायतका सबै पूर्वाधार बने पनि बसपार्क सञ्चालनमा आउन नसक्दा सबै संरचना प्रयोगमा आउन सकिरहेका छैनन् । खलंगा बजारका सडकमा गाडीको भिडले पैदल यात्रुलाई हिंड्न मुस्किल हुने गरेको छ । 

बसपार्क सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती छ । एक त बजारको सडक निकै साँघुरो छ । त्यसमाथि बस, जिप अटो सबै सडकमै पार्किङ गरेपछि जोखिम बढेको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।