
काठमाडौं । विश्वभर नयाँ वर्ष २०२६ को उल्लास सुरू भएको छ। सबैभन्दा पहिले प्रशान्त टापु मुलुक किरिबाटीले नयाँ वर्षलाई स्वागत गरेको छ ।
किरिबाटीपछि न्युजिल्यान्ड र अस्ट्रेलियाको पूर्वी तटले नयाँ वर्ष २०२६ लाई स्वागत गरेकाे छ । न्युजिल्यान्डको अकल्यान्डमा शान्ति, आशा र शुभेच्छाको कामनासहित नयाँ वर्ष मनाइएको छ । यस्तै हालैको बोन्डी बिच आक्रमणको पीडा बिर्सँदै अस्ट्रेलियाका नागरिकहरु नयाँ वर्षको स्वागतमा सामेल भए ।
सिड्नी हार्बरको आतिशबाजीमा १० लाखभन्दा बढी मानिसहरु सहभागी भएको बीबीसीले जनाएको छ । सम्पूर्ण विश्वले नयाँ वर्षलाई स्वागत गर्न २६ घन्टा लाग्नेछ । सबैभन्दा अन्तिममा प्रशान्त टापु बेकर आइल्यान्डले नयाँ वर्षको स्वागत गर्नेछ । किरिबाटी र बेकर आइल्यान्डबीचको दूरी १२ सय ९० किलोमिटर रहे पनि समय भने २६ घन्टाको फरक छ । बेलायतमा मध्यरातमा एडिनबर्ग क्यासलमाथिको आकाशमा १० हजार आतिशबाजी गर्ने तयारी गरिँदैछ ।