पहिरोको त्रासले रित्तिँदै दोलखाको बिगुस्थित दुर्गम ठोङठोङ गाउँ

भीरको बाटो घन्टाैं हिँडेर स्कुल जानुपर्ने बाध्यतामा बालबालिका
पुस १६, २०८२ |केदार शिवाकोटी
पहिरोको त्रासले रित्तिँदै दोलखाको बिगुस्थित दुर्गम ठोङठोङ गाउँ

दोलखा । भीरको गाउँ, भीरकै त्रासका बीच अनकटारमा गुमनाम छ ठोङठोङ। 

शिक्षा, स्वास्थ्यले निकै पिछडिएको बिगु गाउँपालिका-१ को ठोङठोङ गाउँमा कुनैबेला ४३ घर थिए । तर पहिरोको त्रास र बालबालिकाको लागि विद्यालय नजिक नभएका कारण गाउँ रित्तिएको छ। भएको ३ कक्षासम्मको विद्यालय पनि विद्यार्थी अभावमा बन्द भयो भने पढ्ने उमेरका बालबालिका घन्टाैं भीरको बाटोमा उकालोआरोलो गर्नुपर्ने बाध्यतामा छन् । कसैले पहिरोको डरले अनि कसैले छोरोछोरीको पढाइका पीरले गाउँ छाड्दै जाँदा बस्ती पातलिएको हो ।

अनकन्टार भीरमुनि छ ठोङठोङ । २०६० सालयता पटकपटकको पहिरोमा ६ जनाभन्दा धेरैको ज्यान गइसकेको छ । बाह्रै महिना पहिरोको त्रास भएको यो गाउँ शिक्षा र स्वास्थ्यमा निकै पछाडि छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बनेपछि गाउँ नजिकै सडक आयो । तर भएको कक्षा ३ सम्मको विद्यालय बन्द भयो । बालबालिकाको भविष्यका लागि धेरैले गाउँ छाडे, कतिले पहिरोको त्रासले । ४३ घरघुरीको गाउँ अहिले १४ घरधुरीमा खुम्चिएकाे छ ।

बिरामी परे सामान्य सिटामोल लिन घन्टाैं उकालो ओरालो गरेर स्वास्थ्य संस्था धाउनुपर्छ । कोही गम्भीर बिरामी परे डोको सहाराभन्दा विकल्प छैन् । सडक भएर पनि त्यसको सदुपयोग ठोङठोङबासीले गर्न पाएका छैनन् । खेतीपातीले मुस्किलले वर्षको ३ महिना खान पुग्छ । धेरै रोजगारी खोज्दै सहर पसे, अनि कतिपय छोराछोरीको भविष्य सम्झेर पढाइका लागि घरमा ताल्चा ठोकेर हिँडेका छन् ।

बिरामी पर्दा कुनै कुनै बेला माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रका सवारीसाधनले सहयोग गरिदिन्छन् । आर्थिक अभाव र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच नहुँदा अकालमा ज्यान गुमाउनेहरूको सूची लामो छ । शिक्षा र स्वास्थ्यप्रति चेत राख्नेहरू मजदुरी गरेरै भए पनि छोराछोरी पढाउन भन्दै बसाइँ सर्दा कतै पनि जाने नसक्नेहरू ठोङठोङकै थातथलोमा छन् । कुनै दिन दुर्गम ठोङठोङ सुगम बन्ला भन्ने आशमा छन् स्थानीय ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।