एनभीए भलिबल च्याम्पियनसिपको पुरूषतर्फको क्वार्टरफाइनल समीकरण पूरा

पुस १६, २०८२ |खेल ब्युरो
एनभीए भलिबल च्याम्पियनसिपको पुरूषतर्फको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेश भलिबल संघ नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

यससँगै पुरुषतर्फको क्वार्टरफाइनल समीकरणसमेत पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न समूह 'डी' को खेलमा कोशीले कीर्तिपुरलाई ३-० को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा कोशीले पहिलो सेट २५-२३ दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो । 

यससँगै कोशी समूह 'डी'को उपविजेताका रुपमा अन्तिम ८ मा प्रवेश गरेको छ । आर्मी समूह विजेता बन्दै अन्तिम ८ मा पुग्दा कीर्तिपुर भने जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब कोशीले सेमिफाइनल प्रवेशका लागि समूह 'बी'को विजेता नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ ।

आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै बुढानिलकण्ठ भलिबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जावलाखेलविरुद्ध बुढानिलकण्ठले ४ सेटको जित हात पारेको हो । बुढानिलकण्ठ २५-१७, २५-१६, १८-२५ र २५-२२ को नतिजासहित नकआउट चरणमा पुगेको हो । 

क्वार्टरफाइनलमा बुढानिलकण्ठले समूह 'ए'को विजेता हेल्प नेपालसँग खेल्नेछ भने रुकुम पश्चिमले नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वार्टरफाइनल खेलमा आर्मी र खिल्जी प्रतिस्पर्धा गर्ने छन् । क्वार्टरफाइनल चरणका सबै खेल बिहीबार खेलिनेछन् ।