एनभीए भलिबल च्याम्पियनसिप : एभरेष्ट भलिबल क्लबकाे यात्रा समाप्त

पुस १६, २०८२ |खेल ब्युरो
एनभीए भलिबल च्याम्पियनसिप : एभरेष्ट भलिबल क्लबकाे यात्रा समाप्त

काठमाडौं । एभरेष्ट भलिबल क्लबले सान्त्वना जित हात पार्दै नवौं एनभीए भलिबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌-राखेपको कभर्डहलमा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा खेलमा एभरेष्टले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१४ ले जितेको एभरेष्टले दोस्रो सेट २५-५ र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पार्यो । 

चुलीको यो लगातार तेस्रो हार हो । यससँगै प्रतियोगितामा दुबै टोलीको यात्रा समाप्त भएको छ । यसअघि चुली विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्टस क्लबविरूद्ध सोझो सेटमा पराजित भएको थियो । एभरेष्टले पनि आर्मी र न्यु डायमन्डसंग सोझो सेटको हार बेहोरेको थियो । 

आजै सम्पन्न अर्को खेलमा मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब समूह बीको विजेताका रुपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेल जित्दै हिजो नै सेमिफाइनलमा प्रवेश गरिसकेको पुलिसले मधेश प्रदेश खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा हराएको हो ।

पुलिसले मधेशविरुद्ध पहिलो सेट २५-३ दोस्रो सेट २५-८ र तेस्रो सेट २५-९ ले आफ्नो पक्षमा पार्यो । एकतर्फी नतिजा हात पार्ने क्रममा विभागीय टोलीले मधेशलाई तीनवटै सेटमा विलो नेटमा रोक्यो । यस समूहबाट अर्को विभागीय टोली एपीएफ उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्यो । 

अब सेमिफाइनलमा पुलिसले समूह 'ए' को उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने एपीएफले समूह 'ए' को विजेता न्यु डायमण्ड स्पोर्टस क्लबको सामना गर्नेछ । दुबै सेमिफाइनल शुक्रवार हुनेछन् । एभरेष्ट चुली, सुदूरपश्चिम र मधेश प्रदेश भने च्याम्पियनसिपमा अघि बढ्न सकेनन् ।