इलाम । इलामको सन्दकपुर क्षेत्र पर्यटकीय, जैविक र धार्मिक विषेशताले भरिएको स्थान हो ।
धार्मिक सहिष्णुता र विषेशताले गर्दा यो क्षेत्र देश विदेशमा प्रख्यात छ । त्यहाँ रहेको बौद्ध ध्यान केन्द्र यस्तै विषेशताको प्रतीक मानिँदै आएको छ । इलामको सन्दकपुर गाउँपालिका-४ माबुस्थित डुप्डे छेन्पो ङेदोन नाम्ग्यालिङ डुप्खाङ बौद्ध साधना केन्द्र देशी विदेशी बौद्ध धर्मावलम्वीहरूका लागि साधनको केन्द्र बन्दै गएको छ । तीन वर्ष तीन महिना तीन दिनको कठोर साधनापछि उनीहरू बाहिरी संसारमा निस्कँदै गरेको दृष्यले छुट्टै धार्मिक भावको अनुभूति गरउँथ्यो ।
गत शुक्रबार एक भव्य समारोहबीच लामो तपस्यापछि ९ जना साधक ध्यान केन्द्रबाट निस्किए । अबको तीन वर्ष तीन महिना तीन दिनका लागि अरू ११ जना साधक पुनः ध्यान केन्द्र प्रवेश गरेका छन् । २०५७ सालदेखि अहिलेसम्म ७४ जनाले यो साधना पूरा गरिसकेका छन् । अहिले सम्म मुख्य गरी नेपाली र भारतीय बौद्धमार्गीहरू साधनामा बस्ने गरेका छन् ।
यहाँको धार्मिक विषेशतालाई स्थानीयले पर्यटनसँग पनि जोड्दै लगेका छन् । जिल्लाकै प्रमुख पर्यटकीयस्थल सन्दकपुर, माबुथाम, कालपोखरी, दुर्लभ रेडपाण्डा पाइने दोबाटे, नजिकै पर्ने सन्दकपुर २ को टोड्के झरना र विभिन्न धार्मिक देविदेवस्थलका कारण पनि यहाँका बासिन्दा धार्मिक पर्यटनसँग जोडेर यस क्षेत्रको विकास र प्रवर्द्धनमा लागेका छन् । माबुमा धार्मिक आस्थाका गुम्बा, मन्दिर, चर्चलगायत अनेकन धार्मिक र सांस्कृतिक महत्वले भरिएका स्थल छन् ।