
काठमाडौं । नेकपा (एमाले)को जागरणसभालाई लिएर भएको झडपपछि बाराको सिमरामा उत्पन्न विवाद समाधानका लागि अहिले सरोकारवालाहरूबीच वार्ता भइरहेको छ ।
पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा वार्ता भइरहेको हो । जेन-जी समूहको तर्फबाट वार्ताको नेतृत्व लिन जेन-जीका अगुवा सुदन गुरूङ जनकपुरबाट बारा पुग्ने कार्यक्रम छ ।
एमालेका युवा र जेन-जी समूहबीच झडप हुँदा सिमरा बुधबार र बिहिबार तनावग्रस्त बनेको थियो । एमालेको जागरणसभामा आउन लागेका नेताहरूको विरोधमा उत्रिएका युवा र एमाले कार्यकर्ताबीच बुधबार भएको झडपपछि सिमरा अशान्त बनेको हो । यसैबीच, सिमरामा कुटपिटमा संलग्न भएको आरोप लागेका एमालेका दुई वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिमरामा जेन-जी युवालाई कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको हो । बिहिबार साँझ पक्राउ पर्नेमा एमाले निकट मानिने अरबिन्द साह रहेका छन् । जेन-जी बाराका संयोजक सम्राट उपाध्यायसमेतलाई कुटपिट गर्ने उनी मुख्य आरोपी रहेको जेनजी युवाहरूले दाबी गर्दै आएका छन ।
यसका साथै बिहिबार बिहान प्रहरीले पक्राउ गरेका नेकपा एमालेका कार्यकर्ता तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ ।
याे पनि :