सिमरा झडप : उत्पन्न विवाद समाधानको उपायस्वरूप दुई पक्षबीच छलफलको तयारी

मंसिर ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिमरा झडप : उत्पन्न विवाद समाधानको उपायस्वरूप दुई पक्षबीच छलफलको तयारी

काठमाडौं । एमालेको जागरणसभालाई लिएर भएको झडपपछि बाराको सिमरामा उत्पन्न विवाद समाधानको उपायस्वरूप शुक्रबार दुई पक्षबीच छलफलको तयारी भइरहेको छ । 

पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा वार्ताका लागि दुवै पक्ष सहमत भएपछि अहिले वार्ता टोलीमा बस्नेहरूको नाम सङ्कलनको काम भइरहेको बारा प्रशासनले जनाएको छ । जेन-जी समूहको तर्फबाट सुदन गुरूङसमेत वार्तमा बस्ने भनिए पनि उहाँ अझैसम्म बारा पुगिनसकेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। 

एमालेका युवा र जेन-जी समूहबीच झडप हुँदा सिमरा बुधबार र बिहिबार तनावग्रस्त बनेको थियो । एमालेको जागरणसभामा आउन लागेका नेताहरूको विरोधमा उत्रिएका युवा र एमाले कार्यकर्ताबीच बुधबार भएको झडपपछि सिमरा अशान्त बनेको हो । यसैबीच, सिमरामा कुटपिटमा संलग्न भएको आरोप लागेका एमालेका दुई वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिमरामा जेन-जी युवालाई कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको हो । बिहिबार साँझ पक्राउ पर्नेमा एमाले निकट मानिने अरबिन्द साह रहेका छन् । जेन-जी बाराका संयोजक सम्राट उपाध्यायसमेतलाई कुटपिट गर्ने उनी मुख्य आरोपी रहेको जेनजी युवाहरूले दाबी गर्दै आएका छन । 

यसका साथै बिहिबार बिहान प्रहरीले पक्राउ गरेका नेकपा एमालेका कार्यकर्ता तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ । 

जेन-जी कुट्ने आरोपमा ९ जनामाथि किटानी जाहेरी परेको छ । बाराको परवानीपुरमा बुधबार एमालेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जहाजमा सिमरा विमानस्थल हुँदै आउने थाहा पाएपछि त्यसको विरोधमा जेन–जीलगायतले प्रदर्शन गरेपछि एमाले कार्यकर्तासँग झडप भएको थियो। त्यसक्रममा ६ जना प्रदर्शनकारी घाइते भएका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.