
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सुशासन अभियान सुरू गरेको छ ।
पालिकाभित्रका हरेक कामलाई मितव्ययी र जनमुखी बनाउन सुशासन अभियान थालिएको हो । विकास निर्माणको कामलाई छिटोछरितो र प्रभावकारी बनाउने, सेवाप्रवाहलाई गुणस्तरीय बनाउँदै लैजानेदेखि कर्मचारी र जनप्रतिनिधिलाई उत्तरदायी बनाउनेजस्ता योजना सुशासन अभियानभित्र समेटिएका छन् ।
स्थानीय सरकार जनताप्रति उत्तरदायी नभएको, बजेट तथा योजना बाँडफाँटमा राजनीनिक भागवण्डा हुने गरेको, कर्मचारी जनप्रतिनिधि कमिसनमा लोभिएको जस्ता गुनासो अहिले जताततै सुनिन्छ । सेवा प्रवाहमा ढिलासुस्ती हुनुका साथै पहुँचका आधारमा सेवा प्रदान भइरहेकोले पहुँचविहीनहरूले सास्ती भोग्ने गरेको समेत पाइएको छ ।
यिनै आलोचनाहरूलाई मध्यनजर गर्दै सुशासन र पारदर्शीतामा गुठीचौरलाई जुम्लाकै नमुना बनाउन विशेष योजनासहित सुशासन अभियान थालिएको दाबी स्थानीय सरकारले गरको छ । अभियानअनुसार अब गुठीचौरले विकास निर्माणलाई गुणस्तरीय बनाउने, टुक्रे योजनालाई निरूत्साहित गर्ने, जथाभावी हुने खाना खर्च तथा सवारीसाधनको प्रयोगलाई व्यवस्थित गर्ने छ ।
इन्धन र सवारीसाधनको प्रयोगका लागि लगबुक बनाउनेदेखि विकास र सेवा प्रवाहमा हुने सबै ढिलासुस्तीको अन्त्य गर्ने विषयसमेत समेटिएको छ । विकास परियोजनामा हुने भ्रष्टचार अन्त्य, एउटा काममा धेरैपटक धाउनु नपर्ने, आवश्यकतामुखी योजना निर्माण, फजुल खर्चमा रोक, अनुउत्पादक क्षेत्रमा लगानी घटाउने विषयले प्राथमिकता पाए पनि स्थानीय आश्वस्त हुन सकेका छैनन् ।
कर्मचारी तथा जनप्रतिनिधिले सेवाग्राहीको कामको अतिरिक्त सुविधा नलिने, प्राविधिक कर्मचारीलाई दिँदै आएको फिल्डभत्ता रोक्ने, पालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता रद्द गर्नेदेखि कर्मचारीले लगबुकबिना पालिकाका सवारी चलाउन नपाउने, घरमा लिन नपाउने तर त्यसको विकल्पमा पालिकामै आवासको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
अभियानअन्तर्गत साढे तीन वर्षको अवधिमा पालिकाले गरेका कामबारे समुदायस्तरमा जागरण फैलाइनेछ । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको ठाकुरज्युसम्म सडक निर्माण, प्याराग्लाइडिङ महोत्सव, मदिरा नियन्त्रण अभियान सञ्चालनदेखि गाउँगाउँमा सडक जोड्नुलाई उपलब्धि ठानिएको छ ।
सुशासन अभियानले गुठीचौरलाई जिल्लाको अब्बल पालिका बनाउन मद्दत पुग्ने विश्वास छ । अभियानले सस्तो लोकप्रियता बटुल्ने माध्यम र नाम मात्रको भनेर आलोचना खेपिरहँदा नतिजामुखी हुनुपर्ने देखिएको छ ।